अमेरिका: फिफा विश्वकप २०२६ ले खेलकुद इतिहासमै नयाँ आर्थिक कीर्तिमान कायम गरेको छ ।
विश्व फुटबल महासंघ (फिफा)ले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ । यो रकम प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा निकै बढी हो ।फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारीअनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज तथा दोस्रो बजारमा भएको टिकट कारोबारबाट अपेक्षाभन्दा धेरै आम्दानी भएको हो । टिकटको सेकेन्डरी बजारमा खरिद–बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट १५–१५ प्रतिशत शुल्क लिने व्यवस्था रहेकाले पनि आम्दानी उल्लेख्य रूपमा बढेको बताइएको छ ।यो आर्थिक सफलतापछि विश्वभरका २०० भन्दा बढी सदस्य राष्ट्रका फुटबल संघहरूले थप आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन् । यद्यपि, कति रकम कुन आधारमा वितरण गर्ने भन्ने विषयमा फिफाले अझै अन्तिम निर्णय गरिसकेको छैन ।विश्वकप आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचनामा परेका फिफा अध्यक्ष इन्फान्टिनोका लागि यो वित्तीय उपलब्धिलाई ठूलो सफलता मानिएको छ । आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनअघि उनले २०० भन्दा बढी सदस्य राष्ट्रको समर्थन प्राप्त गरिसकेको बताइएको छ । विश्वकपबाट भएको उच्च आम्दानीका कारण थप अनुदानको अपेक्षामा रहेका धेरै सदस्य संघहरूले पनि सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त नगरेको उल्लेख गरिएको छ ।यसैबीच, विश्वकपबाट भएको आर्थिक सफलताले भविष्यमा अमेरिकाले पुनः विश्वकप आयोजना गर्ने सम्भावना पनि बलियो बनेको छ । सन् २०३० को विश्वकप आयोजनाका लागि चाँडै बोलपत्र आह्वान हुने तयारी भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका फेरि विश्वकप आयोजना गर्न इच्छुक रहेको बताउँदै आगामी प्रतियोगितामा क्यानडा र मेक्सिकालाई सह–आयोजक नबनाउने धारणा सार्वजनिक गरेका छन् ।उता, विश्वकप सकिएसँगै राष्ट्रिय टोलीहरूको आर्थिक मूल्यांकन पनि सार्वजनिक भएको छ । स्पेनले दोस्रोपटक विश्वकप उपाधि जिते पनि सबैभन्दा मूल्यवान राष्ट्रिय टोलीको सूचीमा भने फ्रान्स शीर्ष स्थानमा रहेको छ ।याहु स्पोर्टसका अनुसार फ्रान्सको टोलीको अनुमानित मूल्य १ अर्ब ७६ करोड अमेरिकी डलर रहेको छ । दोस्रो स्थानमा १ अर्ब ५८ करोड डलरसहित इंग्ल्यान्ड छ भने विश्वविजेता स्पेन १ अर्ब ४२ करोड डलरको मूल्यांकनसहित तेस्रो स्थानमा रहेको छ ।यस्तै, पोर्चुगल १ अर्ब १७ करोड डलरसहित चौथो, जर्मनी १ अर्ब १० करोड डलरसहित पाँचौं, ब्राजिल १ अर्ब ८ करोड डलरसहित छैटौं स्थानमा छन् । अर्जेन्टिना ९३(त्रियान्नब्बे) करोड ७० लाख डलरको मूल्यांकनसहित सातौं स्थानमा रहेको छ भने नेदरल्याण्ड्स ८७ करोड ५० लाख डलरका साथ आठौं स्थानमा छ । नर्वे ६८ करोड ४० लाख डलरको मूल्यांकनसहित नवौं तथा बेल्जियम ६३ करोड ५० लाख डलरसहित दशौं स्थानमा रहेका छन् ।विश्वकपले मैदानभित्र रोमाञ्चक प्रतिस्पर्धा मात्र नभएर मैदानबाहिर पनि अभूतपूर्व आर्थिक सफलता हासिल गरेको छ । फिफाको आम्दानीमा भएको कीर्तिमानी वृद्धिले सदस्य राष्ट्रहरूलाई थप आर्थिक सहयोगको ढोका खोल्ने छ ।
