विराटनगर: विराटनगरमा बुधबार आयोजित कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले वार्षिक कार्यक्रमअन्तर्गत सय जनाभन्दा बढी खेलाडी, अग्रज खेलकर्मी र खेलकुद पत्रकारलाई नगदसहित सम्मान गरेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशका खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल क्षेत्रका योगदानकर्तालाई सम्मान गरिएको हो ।बोर्डले प्रतियोगिताको स्तर र पदकका आधारमा नगद पुरस्कार प्रदान गरेको हो । एसबीआई प्रथम दृष्टिविहीन महिला क्रिकेट प्रतियोगितामा उपविजेता बनेको कोशी प्रदेश टोलीकी खेलाडी प्रतिभा राई र सुनिता भुजेललाई जनही एक लाख रुपैयाँ प्रदान गरियो भने टोलीका प्रशिक्षक उदयपुरका नरेन्द्र निरौलालाई २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।राष्ट्रिय कुस्ती प्रतियोगिता, ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ, ४६औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप, २०औँ राष्ट्रिय जुडो, २५औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो, एनएसए कप पौडी च्याम्पियनसिप, राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, नेकोस राष्ट्रिय महिला क्रिकेट तथा ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । ती प्रतियोगिताका प्रशिक्षक र व्यवस्थापकलाई जनही १० हजार रुपैयाँ दिइएको बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिए ।राष्ट्रिय यू–२० एथलेटिक्स च्याम्पियनसिपसहित जुनियर प्रतियोगिताका कास्य पदक विजेतालाई ६ हजार र रजत पदक विजेतालाई ८ हजार रुपैयाँ प्रदान गरिएको उनले बताए । दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यू–२३ सिंगल्स क्लास–७ मा रजत पदक जितेका स्वीकृत न्यौपानेलाई पनि ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
कार्यक्रममा भारोत्तोलनका पार्थ सारथी सेन गुप्ता, गणेशप्रसाद दुलाल, एथलेटिक्सका नारायण यादव र नारायणबहादुर प्रधान, ब्याडमिन्टनका उदयकुमार अर्याल, तेक्वान्दोका कुलबहादुर गुरुङ, टेबलटेनिसका विकेन थापा, फुटबलका मनिष तिम्सिना र भगिरथ आले, करातेका कुविरमान राई र कुशल श्रेष्ठ, जुडोका गंगाबहादुर खड्का तथा आईटीएफ तेक्वान्दोका राजेन्द्र धिमालसहित १३ अग्रज खेलकर्मीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरियो ।खेल पत्रकारतामार्फत प्रदेशको खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै मोरङका विनोद भण्डारी, सुनसरीका अर्जुन सुवेदी र अमर काफ्ले, ओखलढुंगाका नवराज कार्की तथा इलामका नमिन ढकाललाई जनही ११ हजार रुपैयाँसहित सम्मान गरिएको घोषले बताए । यसैगरी, नेपाली क्रिकेट टोलीका व्यवस्थापक अर्जुन पौडेल तथा बोर्डका कर्मचारीमध्ये उत्कृष्ट कार्यक्रम प्रमुख विमल पोखरेल, राजीव सुवेदी र नरकुमार बस्नेतलाई पनि जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।सम्मानित व्यक्तिहरूलाई बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री रामप्रसाद मेहता, उपाध्यक्ष वसन्तराज अर्याल र सदस्यसचिव विप्लव घोषलगायतले सम्मानपत्र र नगद रकम हस्तान्तरण गरेका थिए ।
