१६ आषाढ २०८३, मंगलबार

विराटनगरको रानी नाकामा खैरो हेरोइन कारोबारको पर्दाफास: भारतीय तस्कर र ४ लाख ७१ हजारसहित खरिदकर्ता पक्राउ

Logo
Pulse Khabar मंगलबार, आषाढ १६, २०८३

विराटनगर :विराटनगरको सीमावर्ती रानी नाकाबाट ठूलो परिमाणमा लागुऔषध नेपाल भित्र्याउने प्रयास प्रहरीले विफल पारेको छ ।

प्रहरीले भारतबाट पैदल नै नेपाल प्रवेश गर्दै गरेका एक भारतीय नागरिकलाई करिब २९०(दुई सय नब्बे) ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित पक्राउ गरेको छ । उक्त लागुऔषध खरिद गर्न आएका जुम्लाका युवक पनि पक्राउ परेका छन् । खरिदकर्ता युवकको साथबाट प्रहरीले ४ लाख ७१ हजार रूपैयाँ नगद बरामद गरेको छ ।आइतबार बिहान करिब १०ः४० बजेतिर विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले एक जनालाई नियन्त्रणमा लिएको थियो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ती व्यक्तिमाथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो । जाँचका क्रममा भारतको पश्चिम बंगाल राज्य, दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुर थानास्थित बनिहारीका ३२ वर्षीय चञ्चल सिकदारलाई प्रहरीले नियन्त्रणमा लियो ।उनले बोकेको कालो प्लास्टिकको झोलाभित्र रहेका दुईवटा टिफिन बट्टामा लुकाएर ल्याइएको अवस्थामा खैरो हेरोइन बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार साथबाट लागुऔषध बरामद भएपछि भारतीय युवकलाई तत्कालै पक्राउ गरिएको हो । सिकदारको साथबाट २८९ ( दुई सय उनान्नब्बे )ग्राम ७२० मिलिग्राम खैरो हेरोइन बरामद भएको जानकारी मिश्रले दिए ।लागुऔषधसहित पक्राउ परेका सिकदारलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा सिकदारबाट बरामद भएको लागुऔषध खरिद गर्न अर्का युवक आएको जानकारी प्रहरीले प्राप्त गर्यो । त्यसलगत्तै थप निगरानी गर्दै खोजीमा निस्किएको प्रहरीले खरिदकर्ता युवकलाई पनि नियन्त्रणमा लियो ।पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावल रहेका छन् । लागुऔषध ‘सप्लाई’ गर्ने भारतीय पक्राउ परेको थाहा पाउनसाथ रावल विराटनगरबाट भागेका थिए । पिछा गर्दै गएको प्रहरीले उनलाई सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीबाट पक्राउ गरेको हो ।रावलको साथबाट ४ लाख ७१ हजार रूपैयाँ र बागमती प्रदेश ०२–०२४ प ०१७७ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

‘भारतीय नागरिक चञ्चल सिकदारले नेपाल ल्याएर लागुऔषध रावललाई बिक्री गर्ने योजना रहेछ । रावल लागुऔषध खरिदकै लागि विराटनगरसम्म आएका रहेछन् । तर, दुवै जना पक्राउ परेका छन् । लागुऔषध नेपाल भित्र्याउने प्रयास असफल भएको छ,’ प्रहरी स्रोतले भन्यो ।इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले दुवै जनामाथि विस्तृत अनुसन्धान गरिरहेको छ । लागुऔषधको स्रोत, नेपालभित्रको सम्भावित सञ्जाल, कारोबारमा संलग्न अन्य व्यक्तिहरू तथा सीमापार हुने लागुऔषध तस्करीको ‘नेटवर्क’का बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सीमावर्ती क्षेत्र हुँदै लागुऔषध ओसारपसारका घटना पछिल्लो समय चुनौतीका रूपमा देखिँदै आएको छ । मोरङ प्रहरीले लागुऔषधविरुद्ध विशेष अभियान नै सञ्चालन गरिरहेको छ । लागुऔषधको अवैध ओसारपसार, कारोबार र सेवन रोक्नका लागि प्रहरी सक्रियता बढाइएको डीएसपी मिश्रले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206