काठमाडौं :झन्डै दुई महिनादेखि भारतीय पक्षले गुणस्तर परीक्षणको प्रक्रियामा कडाइ गरेपछि अवरुद्ध भएको नेपाली चियाको निर्यात पुनः सुरु भएको छ ।
भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले परीक्षण प्रणालीलाई खुकुलो बनाउँदै जोखिममा आधारित नमुना परीक्षण लागू गरेपछि काँकडभिट्टा नाकाबाट चिया बोकेका ट्रकहरू भारत प्रवेश गर्न थालेका हुन् । यसअघि भारतले नेपालबाट जाने प्रत्येक चियाको खेपको अनिवार्य नमुना परीक्षण गर्ने व्यवस्था लागू गरेपछि निर्यात पूर्ण रूपमा प्रभावित भएको थियो ।त्यसका कारण इलामसहित पूर्वी नेपालका चिया उद्योगमा ठूलो परिमाणमा अर्थोडक्स चिया मौज्दात भएको थियो । उद्योग र किसान दुवै आर्थिक दबाबमा परेका थिए । उद्योगले उत्पादन बन्द गरेका थिए ।सरकारको कूटनीतिक पहलपछि भारतीय पक्षले नयाँ कार्यविधि लागू गर्दै अब पाँचवटा खेपमध्ये एउटाको मात्रै नमुना परीक्षण गर्ने व्यवस्था गरेको छ । यही निर्णयपछि व्यवसायीहरूले फेरि चिया निर्यात सुरु गरेका छन् । नेपाल चिया उत्पादक संघका अनुसार सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका ट्रकहरू काँकडभिट्टा हुँदै भारततर्फ गएका छन् ।
व्यवसायीहरूले अब भारतीय बजारबाट नयाँ अर्डर आउन थालेको बताएका छन् । निकासी पुनः खुल्दा लामो समयदेखि रोकिएको चिया बजारमा पठाउने तयारी पनि तीव्र बनेको छ । यद्यपि, पानीट्यांकी नाकामा परीक्षण प्रयोगशाला नहुँदा नमुना परीक्षणका लागि कोलकाता पठाउनुपर्ने अवस्था भने अझै हटेको छैन ।चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा अन्तरनिकाय समिति गठन गरी दीर्घकालीन समाधान खोज्ने कामसमेत अघि बढाएको छ । व्यवसायीहरूले तत्कालका लागि निर्यात सहज भए पनि भारतीय निकायको आगामी व्यवहारले नै नेपाली चिया व्यापारको स्थायित्व निर्धारण गर्ने बताएका छन् ।हाल पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियाको निर्यात पुनः सुरु भए पनि तराईमा उत्पादन हुने सीटीसी चियाको व्यापार भने अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन । भारतीय अवरोध हटेपछि चिया बजार पुरानै लयमा फर्किएको छ ।
