काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार भएको रोमाञ्चक खेलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।
मेक्सिकोको मोन्टेरी रंगशालामा सम्पन्न ‘राउन्ड अफ ३२’ को प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले नेदरल्याण्ड्सविरुद्ध ३–२ गोल अन्तरको कठिन जित दर्ता गरेको हो।खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा मोरक्कोका लागि इस्सा डिओप, इस्माइल साइबारी र गोलकिपर यासिन बुनु नायक बने ।
यसअघि खेलको ७२ औं मिनेटमा कोडी ग्याकपोले गोल गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको मोरक्कोले खेलको अन्तिम समयमा नाटकीय पुनरागमन गर्यो । इन्जुरी समयको ९(नौ )+१ मिनेटमा इस्सा डिओपले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।पेनाल्टी सुटआउटमा मोरक्कन गोलकिपर यासिन बुनुको उत्कृष्ट प्रदर्शन र खेलाडीहरूको सटिक प्रहारको मद्दतले मोरक्कोले बाजी मार्न सफल भयो । यो जितसँगै मोरक्कोले विश्वकपको अघिल्लो यात्रा तय गरेको छ भने नेदरल्याण्ड्स प्रतियोगिताबाट बाहिरिएको छ।
