काठमाडौँ: नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले राससमा आबद्ध कर्मचारीका एसइई उत्तीर्ण छोराछोरीलाई सम्मान प्रदान गरेको छ ।
राससको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा यस वर्ष एसइई उत्तीर्ण गर्ने राससकर्मी गीता पराजुली (अधिकारी) र शिव अधिकारीका छोरा स्वागत अधिकारी, वासुदेव पौडेल र सारदा भट्टराई पौडेलका छोरी सुजता पौडेल तथा पूर्णप्रसाद मिश्र र शान्ति मिश्र भण्डारीका छोरा मिनेन्द्रप्रसाद मिश्रलाई सम्मान गरिएको हो । राससका महाप्रबन्धक सन्दीप राई, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र प्रतिष्ठान प्रदेश अध्यक्ष रमेश वाग्लेसहित रासस प्रतिष्ठान शाखाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । सो अवसरमा अध्यक्ष शर्माले पछिल्लो समय पत्रकारिता पेसामा युवा पुस्ताको आकर्षण घट्दै गएकामा चिन्ता व्यक्त गर्दै श्रमजीवी पत्रकारको हकहित र सुरक्षासहित वाकस्वतन्त्रताको पक्षमा अब महासङ्घले कसैसँग सम्झौत नगर्ने बताउनुभयो । महासङ्घको प्रतिष्ठान प्रदेश अध्यक्ष वाग्लेले लोकतान्त्रिक शासन व्यवस्थामा सरकारले नागरिकको सूचनाको हक र पत्रकारिता पेसालाई सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गर्दै पत्रकारका पक्षमा उभिन सरकारसँग अनुरोध गर्नुभयो ।
महाप्रबन्धक राईले राससका कर्मचारीबीच पारिवारिक सम्बन्ध सुदृढ तुल्याउन, विद्यार्थीको मनोबल बढाउन र ऐतिहासिक महत्व बोकेको पुरातन संस्कृति जगेर्ना गर्न सहयोग पु¥याउने कार्यक्रमको विशेष महत्व रहेको धारणा व्यक्त गर्नुभयो । एसइई उत्तीर्ण एवं सम्मानित विद्यार्थीद्वय अधिकारी र पौडेलले आफ्ना अभिभावक कार्यरत रासससम्बद्ध पत्रकार महासङ्घका तर्फबाट सम्मान कार्यक्रमसहित हौसला प्रदान गरेकामा महासङ्घसहित रासस परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो । महासङ्घ, रासस प्रतिष्ठान शाखाका अध्यक्ष सापकोटाले राससमा आबद्ध कर्मचारीका एसइई उत्तीर्ण सन्ततिको उज्ज्वल भविष्यको कामना गर्दै मित्रमिलन कार्यक्रमसहित दहीचिउरा खाने संस्कृतिलाई निरन्तरता दिएको बताउनुभयो ।
