१४ आषाढ २०८३, आइतबार

घोडाघोडी सिमसारमा सूचक प्रजाति ‘हरिहाँस’ को गणना सुरु

Logo
Pulse Khabar आइतबार, आषाढ १४, २०८३

घोडाघोडी:  कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा आजदेखि तीन दिनसम्म हरिहाँसको गणना गरिने छ ।गणना टोलीमा आठ जना सहभागी छन् । तीन वटा उपसमूह बनाएर तीन वटा ब्लकमा एकसाथ गणना सुरु गरिएको नेपाल पन्छी संरक्षण सङ्घका स्थलगत परियोजना अधिकृत हिरुलाल डगौराले जानकारी दिनुभयो । उहाँका अनुसार घोडाघोडी सिमसार क्षेत्रमा प्रत्येक वर्ष जाडो र गर्मीयाममा सूचक प्रजाति हरिहाँसको गणना गरिँदै आइएको छ । जाडोयामको तुलनामा गर्मीयाममा हरिहाँसको सङ्ख्यामा कमी आउने उहाँले बताउनुभयो ।डगौराका अनुसार कैलालीको भजनी नगरपालिकास्थित लौकाहा–भौकाहा, घोरताल तथा सोनियाँ–रुपियाँलगायत सिमसार क्षेत्रमा हरिहाँसले प्रजनन (ब्रिडिङ) गर्ने गर्दछन् । प्रजननका लागि हरिहाँस जिल्लाका विभिन्न सिमसार क्षेत्रमा फैलिने भएकाले गर्मीयाममा घोडाघोडी क्षेत्रमा यसको सङ्ख्या जाडोयामको तुलनामा कम देखिने गरेको उहाँले बताउनुभयो ।गर्मीयामको गणनाअनुसार सन् २०२३ मा २१२, सन् २०२४ मा २२५ र सन् २०२५ मा १६४ वटा हरिहाँस यहाँ अभिलेख भएका छन् । जाडोयाममा भने सन् २०२२ मा ३९४, सन् २०२३ मा ३१६ र सन् २०२४ मा ४११ पुगेको थियो । सन् २०२५ मा यो सङ्ख्या घटेर ३७२ मा झरेको थियो । सन् २०२६ को जाडोयाममा भने हरिहाँसको सङ्ख्या ४२९ पुगेको तथ्याङ्क छ ।

सोही अवधिमा अन्य जलपंक्षीको सङ्ख्या भने क्रमशः घट्दै गएको तथ्याङ्कले देखाएको छ । यस वर्षको गर्मीयामको गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक अवस्था, वितरण तथा सङ्ख्याको विस्तृत विवरण सार्वजनिक गरिने पन्छी संरक्षण सङ्घका अधिकृत डगौराले बताउनुभयो । हरिहाँससँगै घोडाघोडी सिमसार क्षेत्रमा पाइने अन्य जलपन्छीको पनि गणना गरिने उहाँले जानकारी दिनुभयो ।घोडाघोडी ताल तराइकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ  । सन् २००३ मा घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । त्यतिबेला हरिहाँसको सङ्ख्या एक हजार थियो । घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन् । चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206