काठमाडौं :नेपाल प्रहरीका कर्मचारीले अब १५–१५ दिनको अन्तरालमा तलब पाउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई परिपत्र जारी गर्दै आगामी आर्थिक वर्षदेखि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । प्रशासन विभागका डीआईजी हिमालयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा अर्थमन्त्रीस्तरबाट गत वैशाख ४ गते भएको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको वैशाख २१ गतेको पत्रअनुसार राष्ट्रसेवक कर्मचारीलाई प्रत्येक महिनाको १५ दिन व्यतित भएपछि अर्धमासिक रूपमा तलब भत्ता उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।
सोही निर्णयअनुसार आवश्यक प्रणालीगत व्यवस्था समेत तयार भइसकेको जनाउँदै प्रहरी प्रधान कार्यालयले सबै मातहतका कार्यालयलाई नयाँ व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको छ । यससँगै नेपाल प्रहरीका कर्मचारीले अब मासिक एकमुष्टको सट्टा महिनामा दुई पटक तलब पाउने भएका छन् ।

