काठमाडौं : नेपालमा मनसुनी वायु सक्रिय भएसँगै देशको मौसममा मिश्रित प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन पूर्वबाट क्रमशः पश्चिमतिर फैलिरहेकाले वर्षा हुने क्षेत्र बढ्दै गएको छ भने केही स्थानमा अझै पनि तातो हावाको लहर को प्रभाव छ ।हाल कोशी, मधेस र बागमती प्रदेशका सबै भूभागमा मनसुन फैलिइसकेको छ । गण्डकी प्रदेशका अधिकांश र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा समेत मनसुनी वायुको प्रभाव सुरु भएको छ । बाँकी क्षेत्रमा भने अझै पनि पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् ।आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा पूर्ण बदली रही वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ ।
देशको पूर्वी र मध्य भागमा वर्षाले राहत दिए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने अझै केही दिन गर्मीको प्रकोप रहने देखिन्छ । ती क्षेत्रमा ‘तातो हावाको लहर’ चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । साथै, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि तापक्रम उच्च रहन सक्ने अनुमान छ ।आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना कायमै रहनेछ । मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा समेत बदली भई हल्का वर्षा हुन सक्नेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
