कर्णाली: ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले हात पार्नुभएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग र मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आज सुर्खेतमा आयोजित प्रतियोगितामा रोकायले निर्धारित २१ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै पहिलो हुनुभएको हो । उक्त दौडमा कालिकोटका विनोद रोकाय दोस्रो हुनुभयो । उहाँले उक्त दूरी एक घण्टा नौ मिनेट ३९ सेकेण्ड र तेस्रो हुनुभएका एपिएफका गोपीचन्द्र पार्कीले एक घण्टा १० मिनेट २८ सेकेण्डमा उक्त दूरी पार गर्नुभयो । आयोजकका अनुसार पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु ७५ हजार र रु ५० हजार नगद प्रदान गरियो । महिलातर्फको खुला १० किलोमिटर दौड प्रतियोगितामा धादिङकी सन्तोषी श्रेष्ठ प्रथम हुनुभयो । उहाँले ३६ मिनेट ४० दशमलव ६० सेकेण्डमा निर्धारित दूरी पार गर्नुभयो । कूल ३७ मिनेट ३ दशमलव ११ सेकेण्डमा सो दूरी पार गरी जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र ३९ मिनेट २८ दशमलव ८८ सेकण्डमा निर्धारित दूरी पार गरी बाजुराकी सिर्जना पाण्डेले तेस्रो हुनुभयो । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । पाँच किलोमिटर छात्रातर्फको दौड प्रतियोगितामा सुर्खेतकी कृष्णा रानाले जित्नुभयो । उहाँले २० मिनेट ३४ दशमलव २ सेकेण्डमा दूरी पार गर्नुभयो । जुम्लाकी अन्तिमा बुढा दोस्रो हुनुभयो ।
उहाँले २० मिनेट ४५ दशमलव ५४ सेकेण्ड र तेस्रो हुनुभएकी बाँकेकी स्वस्तिका शाहीले २१ मिनेट २३ दशमलव २५ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभयो । प्रतियोतिामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु पाँच हजार र तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पाँच किलोमिटर दौडमा छात्रतर्फ कालिकोटका अनिल शाही पहिलो हुनुभयो । उहाँले १५ मिनेट ३६ दशमलव १ सेकेण्डमा दूरी पार गर्नुभयो । दोस्रो हुनुभएका जुम्लाका युवकराज बुढाले शाहीले १५ मिनेट ३६ दशमलव ३ सेकेण्ड र तेस्रो हुनुभएका सुर्खेतका भुवन चालिसेले १६ मिनेट ४३ दशमलव ३ सेकेण्डमा उक्त दूरी पार गर्नुभयो । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १० हजार, रु पाँच हजार र रु तीन हजार नगदसहित प्रमाणपत्र पाउनुभयो । त्यस अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले खेल क्षेत्रमा कर्णालीको उल्लेख्य प्रगति हुँदै गएको बताउनुभयो । पछिल्लो समयमा कर्णाली खेल क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको र प्रदेश तथा स्थानीय सरकारले यसमा जोड दिएको बताउनुभयो ।‘दौडिन्छ कर्णाली’ भन्ने मूल नारासहित आज आयोजित प्रतियोगितामा सेन्टरका पूर्वनिर्देशक प्रमोद हमालले कर्णाली प्रदेशका उदयीमान धावकलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।
