अमेरिका :फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को दोस्रो खेलमा इरान र बेल्जियमले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् ।
सोफी स्टेडियममा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि कुनै टोलीले बललाई जाली चुमाउन सकेनन् । खेलको २५औं मिनेटमा इरानका फरवार्ड मेहदी तारेमीले गोल गरेका थिए । तर, उक्त गोल अफसाइड ठहरिएपछि इरानले अग्रता लिन पाएन । त्यसपछि खेलभर दुवै टोलीले गोलका अवसर खोजिरहे पनि सफलता हात पार्न सकेनन् ।खेलको ६६औं मिनेटमा बेल्जियमका नेथान नगुईले इरानका तारेमीमाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । त्यसपछि बेल्जियम १० खेलाडीमा सीमित भए पनि इरानले संख्यात्मक फाइदालाई गोलमा परिणत गर्न सकेन ।
इरानले यसअघि न्युजिल्यान्डसँग २–२ को बराबरी खेल्दै विश्वकप यात्रा सुरु गरेको थियो । लगातार दोस्रो खेलमा पनि बराबरीमा रोकिएपछि इरानले दुई खेलबाट दुई अंक जोडेको छ । नकआउट चरण प्रवेशको सम्भावना कायम राख्न इरानका लागि जुन २७ मा इजिप्टविरुद्ध हुने अन्तिम समूह चरणको खेल निर्णायक बन्नेछ ।सन् २०२६ को विश्वकप इरानको सातौं सहभागिता हो । लगातार विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा उपस्थित रहँदै आएको इरानले यसपटक पनि अन्तिम १६ मा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेको छ ।
