काठमाडौं :देशभर पश्चिमी वायु, स्थानीय वायु र मनसुनी प्रणालीको संयुक्त प्रभाव देखिइरहेका बेला कोशी प्रदेशमा मनसुनको प्रभाव तुलनात्मक रूपमा सक्रिय बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको प्रभाव बढ्दा कोशी प्रदेशका विभिन्न क्षेत्रमा बादल लाग्नुका साथै वर्षा पनि भइरहेको छ । हाल कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ ।मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने लुम्बिनी र कर्णाली प्रदेशको तराई क्षेत्रमा मौसम प्रायः सफा रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज (सोमबार) बिहान हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।सोमबार दिउँसो र राति पनि कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका केही भागमा बादल लाग्ने क्रम जारी रहने अनुमान गरिएको छ । विशेषगरी कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका उच्च भू–भागका थोरै स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, कोशी प्रदेशको तराईका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।कोशी प्रदेशसहित पहाडी क्षेत्रमा वर्षा र उच्च भू–भागमा हिमपातको सम्भावना रहे पनि तराईका विभिन्न क्षेत्रमा गर्मीको प्रभाव कायम रहने देखिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा अर्थात् ‘लु’ चल्न सक्ने चेतावनी महाशाखाले दिएको छ ।बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि अत्यधिक गर्मीका कारण तातो दिनको अवस्था सिर्जना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसमविद्हरूका अनुसार कोशी प्रदेशमा मनसुन सक्रिय बन्दै गएकाले आगामी दिनमा वर्षा थप बढ्न सक्ने सम्भावना रहेको छ ।
