काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि अर्थात् मौका (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
बोर्डले सूचना प्रकाशित गर्दै परीक्षा सञ्चालनको मिति र विस्तृत विवरण सार्वजनिक गरेको हो ।सार्वजनिक कार्य तालिका अनुसार मौका परीक्षा आगामी साउन २ र ३ गते सञ्चालन हुनेछ । कक्षा १२ को नियमित परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ न्यूनतम उत्तीर्णता हासिल गर्न नसकेका विद्यार्थीहरूको शैक्षिक भविष्यलाई मध्यनजर गर्दै बोर्डले यो परीक्षा सञ्चालन गर्न लागेको हो ।बोर्डका अनुसार परीक्षाको पहिलो दिन अर्थात् साउन २ गते एक विषयमा मात्र अनुत्तीर्ण भएका परीक्षार्थीहरूको परीक्षा सञ्चालन गर्ने छ । एक विषयमा मात्र मौका परीक्षा दिने परीक्षार्थीले विषय जुनसुकै भए पनि पहिलो दिन नै परीक्षा दिनुपर्नेछ, बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।
दुई विषयमा परीक्षा दिनुपर्ने परीक्षार्थीहरूको हकमा भने साउन २ र ३ गते दुवै दिन परीक्षा सञ्चालन हुनेछ ।
नियमित परीक्षाको नतिजामा चित्त नबुझेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरूका लागि यो परीक्षा आफ्नो नतिजा सुधार्ने अन्तिम अवसर हो । बोर्डले तोकिएको समयभित्रै आवश्यक प्रक्रिया पूरा गरी परीक्षामा सहभागी हुन सम्बन्धित विद्यार्थीहरूलाई आग्रह गरेको छ ।
