युवा विद्यार्थीहरूलाई सीप, करिअर र उद्योगसँग जोड्ने उद्देश्यका साथ उद्योग संगठन मोरङले आइतबार विराटनगरमा आयोजना गरेको दोस्रो संस्करणको ‘सीप उत्सव २०८३’सम्पन्न भएको छ ।
यस उत्सवमा झापा, मोरङ र सुनसरीका २५ विद्यालय तथा प्राविधिक शिक्षालयका १ हजारभन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । उत्सवलाई विद्यार्थीहरूको ‘करिअर यात्रा’ का रूपमा चित्रण गरिएको थियो, जहाँ सहभागीहरूले आफ्नो रुचि, क्षमता, सम्भावित करिअर र उद्योगसँगको सम्बन्धबारे प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर पाएका थिए । दोस्रो संस्करणको सीप उत्सव प्रतिस्पर्धामा विभिन्न विधा तर्फका विजेतालाई १०–१० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।सीप उत्सवमा अटोमोबाइल्स क्षेत्र तर्फ मनमोहन स्मृति पोलिटेक्नीक हात्तिमुडा मोरङका मो. जेसन अंसारी, होटेल म्यानेजमेन्ट तर्फ नरबाहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय इटहरी सुनसरीका आकृति पौडेल र सूचना प्रविधि तर्फ कनकाई पोलिटेक्निक, झापाका मनिष घिमिरे प्रथम पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
सीप उत्सव समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद मेहता र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले तीनै जना विजेतालाई नगद १०–१० हजार सहित प्रमाण–पत्र वितरण गरेका थिए ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा र मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले युवालाई उद्यमी बनाउने उद्योग संगठन मोरङको कार्य प्रशंसनीय रहेको बताए ।उद्योग संगठन मोरङले स्वीस सरकारको आर्थिक सहयोगमा इन्सोर र हेल्भेटास परियोजनासँग सहकार्य गरेर सीप उत्सवको आयोजना गरेका थिए ।
