राँझा : बाँकेको बैजनाथ गाउँपालिकाका किसान परम्परागत ढक–तराजु छोडेर डिजिटल प्रविधिमैत्री बन्दै गएका छन् ।
पहिलो चरणमा गाउँपालिकाभित्रका ७६ जना किसानलाई गाउँपालिकाले डिजिटल तराजु वितरण गरेपछि यहाँका किसान प्रविधिसँग जोडिएर श्रमको सही मूल्य पाउन थालेका छन् । बैजनाथ गाउँपालिका–७ का किसान दिनेश चौधरीले वर्षौँदेखि परम्परागत ढक–तराजु प्रयोग गरेर आफ्नो खेतबारीको उब्जनी जोख्दा कहिले ढक खिइने त कहिले व्यापारीको आफ्नै तराजुमा शङ्का उपशङ्का हुने समस्या डिजिटल तराजुले अन्त्य गरेको बताउनुभयो । “अब तौलमा तलमाथि हुने डरै भएन, व्यापारीले पनि ठग्न पाएनन्, आफूलाई पनि ढुक्क भएको छ” उहाँले भन्नुभयो, “गाउँपालिकाले हामीजस्ता साना किसानको मर्का बुझिदिएर डिजिटल तराजु सहयोग गरेको जस्तो लागेको छ ।”‘किसानसँग पालिका प्रमुख’ कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदानमा गाउँपालिकाले डिजिटल तराजु वितरण गरेपछि यहाँका किसानको कथा अहिले फेरिएको छ । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका ठूला–ठूला कुरा भइरहँदा, किसानले उत्पादन गरेको वस्तुको सही तौल हुनु नै बजारको पहिलो र मुख्य सर्त ठानेर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३को बजेटमार्फत यो योजना अघि सारेको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो ।
“किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने व्यक्ति वा व्यवसायी र किसान बिचको विश्वास बढाउने र परिणाम सही निकाल्ने काम यो डिजिटल तराजुले गर्नेछ”, अध्यक्ष शाहीले भन्नुभयो, “किसानको उत्पादनलाई बजारीकरण गर्न यसले थप मद्दत पु¥याउने हाम्रो विश्वास छ ।”गाउँपालिकाले किसानलाई प्रविधिसँग जोड्नका लागि कतिपय क्षेत्रमा ७० प्रतिशत त कतिपयमा पूर्णअनुदान दिँदै आएको गाउँपालिका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार, गाउँपालिकाभरिबाट कुल ९६ जना किसानले तराजुका लागि निवेदन दिएकोमा प्राप्त आवेदनमध्येबाट वास्तविक र आवश्यकताका आधारमा छनोट गरेर पहिलो चरणमा ७६ जना किसानलाई एक–एक थान डिजिटल तराजु वितरण गरिएको हो । ७० प्रतिशत अनुदान पाएपछि किसानले निकै कम लागतमा आधुनिक प्रविधि आफ्नो घर र खेतबारीसम्म पु¥याउन सफल भएका छन् ।डिजिटल तराजुले किसानलाई परम्परागत ढक–तराजु जस्तो दण्डी मार्ने वा तौलमा घटबढ हुने सम्भावना शून्य हुने, क्रेता र बिक्रेता दुवैले डिजिटल स्क्रिनमा सिधै तौल देख्न सक्ने भएकाले असमझदारी हट्ने र छिटो र छरितो तौल हुने हुँदा बजारमा सामान लैजाँदा समय बचत हुने उहाँको भनाइ छ । ।
