३० जेठ २०८३, शनिबार

पुरातन इतिहासको खोजीमा फेला परेको तथ्य : यसरी बन्यो लिम्बूवान राजा हिलिहाङको ऐतिहासिक दरबार

Logo
Pulse Khabar शनिबार, जेठ ३०, २०८३

पाँचथर:पाँचथरको हिलिहाङ गाउँपालिका–४ हस्तपुरमा हरियाली जङ्गलबीच भब्य संरचना निर्माण भएको छ ।

यहाँ पुग्ने नयाँ पर्यटकलाई यो पक्कै पनि अनौठो लाग्छ । कटुस, काफल र निगालोको घनाजङ्गल, चराको आवाज र प्रकृतिको सुवासले मन्त्रमुग्ध यही ठाउँ इतिहास, पुरातत्व र धार्मिक विश्वासले पनि उस्तै विशिष्ट छ । यही विशिष्टता खोज्दाखोज्दै यहाँ आकर्षक संरचना पनि बनेका हुन् । यो स्थानका तत्कालीन लिम्बूवानका अन्तिम राजा हिलिहाङले शासन चलाएको हिलिहाङ दरबार क्षेत्र हो । विसं १८४२ सालसम्म हिलिहाङले यहाँबाट तत्कालीन विजयपुर राज्यअन्तर्गतको याङरुप भनिने याङवरक थुममा शासन गरेको इतिहास छ । तत्कालीनराजा हिलिहाङको दरबार उहाँको आकस्मिक मृत्युपछि संरक्षण हुन नसक्दा भत्किएर गएको थियो । यही स्थानमा हिलिहाङ गाउँपालिकाले प्यागोडा शैलीको दरबार, सङ्ग्रहालयलगायत संरचना निर्माण गरेपछि पर्यटकको आकर्षण बनेको छ । धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण हिलिहाङ दरबार क्षेत्रमा निर्मित पूर्वाधार पनि पर्यटन प्रवद्र्धनको माध्यम बनेको हो । यहाँ प्यागोडा शैलीको तीन तले दरबार निर्माण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र हिलिहाङ गाउँपालिकाको साझेदारीमा रु. दुई करोड ५१ लाख ६८ हजारको लागतमा दरबार निर्माणकार्य सम्पन्न चएको हो । मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा दरबारका संरचना भगवती वौद्ध जेभी इलामले निर्माण गरेको हो । दरबारमा अवलोकनका अन्य सामग्री नभएपनि यसको आकर्षक बनौट, यहाँको भूगोल र इतिहास प्रतिको चासोले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

यहाँ पुग्ने पर्यटकले तत्कालीनराजा हिलिहाङको समयका बैठक स्थल, राजसभास्थल, पर्खाल, दरबारमा प्रयोग भएका इटा, खड्पललगायत संरचनाको अवलोकन गर्न पाउँछन । यस्तै राजा हिलिहाङले शक्ति प्राप्त गर्ने गरेको विश्वास गरिने महारानी शक्तिपीठको दर्शन गर्ने प्रचलन रहिआएको छ । स्थानीय तह पुनर्संरचनाका क्रममा साविकका भारपा, सुभाङ, पञ्चमी र अमरपुरलाई जोडेर हिलिहाङ गाउँपालिका बनाइएपछि राजा हिलिहाङ तथा उहाँको दरबारबारे चासो बढेर गएको थियो । हिलिहाङ फाउण्डेसनले मेची राजमार्गको याङवरक गाउँपालिका–६ नागीमा प्रवेशद्वार निर्माण गर्नुका साथै हिलिहाङ दरबार अगाडि सालिक निर्माण गरेको छ । हिलिहाङ गाउँपालिकाले हिलिहाङ महोत्सव आयोजना गरी यो स्थानको प्रचार थालेको थियो । कोशी प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाले सङ्ग्रहालय गरिसकेको छ । पुरातत्व विभागले हिलिहाङ दरबार क्षेत्रको पुरातात्विक सम्पदाबारे खोजी गरिरहेको छ । समुन्द्र सतहबाट एक हजार ८२० मिटर उचाइमा अवस्थित हिलिहाङ दरबार क्षेत्र जङ्गलबीचमा अवस्थित छ । शान्त, एकान्त र सुन्दर हरियालीमा अवस्थित यस पर्यटकीय क्षेत्रसम्म गाउँपालिकाले सडक विस्तार गरेपछि पर्यटकको आवागमन पनि सहज भएको छ । हिलिहाङ गाउँपालिकाले पाँच वर्ष अघिदेखि राजा हिलिहाङको जन्मोत्सव मनाउन थालेको छ । हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार हिलिहाङ दरबार क्षेत्रलाई पर्यटकको आकर्षण बनाउने, हिलिहाङ राजाको शासन कालका सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राख्ने प्रयास भइरहेको छ । हिलिहाङ दरबार क्षेत्रसँगै जोडिएको भोटेगढीलगायत पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधार विकास र प्रचारप्रसार बढाउन गाउँपालिकाले लगानी गरिरहेको अधिकारीको भनाइ छ ।

नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखा फौजसँग हिलिहाङको फौज १७ पटकसम्म अपराजित रहेको विश्वास गरिन्छ । तर, विसं १८३१ साउन २२ गते राजा हिलिहाङले नेपाल एकीकरण अभियानलाई सहजीकरण गर्दै याङवरक थुम (जिल्ला)लाई नेपाल मातहत राखी स्वशासनको अधिकार लिएको इतिहास छ । विसं १८४२ मा हिलिहाङको अकस्मात मृत्यु भएपछि याङवरक थुम पूर्णतः नेपाल मातहतमा गाभियो । यही आधारमा हिलिहाङलाई लिम्बुवानका अन्तिम राजा भन्ने गरिन्छ । पराक्रमी मानिने राजा हिलिहाङ निधनपछि उहाँसँग रुष्ट पक्षहरुले दरबार र राज्यसत्तामा दखल दिएका कारण दरबारको संरक्षण हुन नसक्दा भत्किएको थियो । राजा हिलिहाङको दरबारमा प्रयोग भएका इँटा र सो समयमा लगाइएका पर्खाल अझैपनि दरबार परिसरमा रहेका छन । यसरी इतिहासको खोजी गर्दागर्दै दरबारका संरचना निर्माण भएपछि नेपाल एकीकरण, राष्ट्रिय एकता र इतिहासको गजेर्नामा ठूलो मद्दत पुगेको यस क्षेत्रका अग्रज कृष्णबहादुर योङहाङको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206