२९ जेठ २०८३, शुक्रबार

धरानको पिण्डेश्वर बाबाधाममा फेरियो रौनक: धार्मिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

Logo
Pulse Khabar शुक्रबार, जेठ २९, २०८३

धरान: धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड पिण्डेश्वर बाबाधाम आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

मुलुकका विभिन्न जिल्लाका साथै छिमेकी भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ आउने तीर्थालुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुहुन्छ ।चारैतिर बाक्लो जङ्गल, वरपीपलका रुख र चौताराले घेरिएको विजयपुर डाँडामा अवस्थित यो मन्दिर पूजापाठका साथै घुमफिर र मानसिक शान्तिका लागि पनि यात्री बाबाधाममा आउने गरेका उहाँ बताउनुहुन्छ । विशेषगरी तराईमा तापक्रम बढ्दै जाँदा यहाँको शीतल वातावरण र हरियालीको आनन्द लिन टाढाटाढाबाट आन्तरिक पर्यटकको आउने गरेका गरेका छन् । मन्दिर परिसरबाट धरान बजार, चारकोशे जङ्गल र इटहरी क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।यहाँ पूजापाठ गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । धरान–१६ की पवित्रा श्रेष्ठ पिण्डेश्वर बाबाधाममा मागेको कुरा पूरा हुने विश्वासका कारण आफू नियमित रूपमा त्यहाँ भोलेबाबाको आराधनाका निम्ति जानेगरेको बताउनुहुन्छ । हरियाली र शान्त वातावरणले पनि उहाँलाई पिण्डेश्वर क्षेत्रले आकर्षित गर्छ । विराटनगरबाट शिवाराधनाका निम्ति परिवारसहित आउनुभएकी सुनिता श्रेष्ठ यहाँ पूजा गरेपछि मन शान्त हुने र सोचेका काम पूरा हुने बताउनुहुन्छ ।पुराणमा वर्णनभएअनुसार समुद्र मन्थन गर्दा निस्किएको कालकुट विष भगवान् शिवले आफ्नो कण्ठमा धारण गर्नुभएको थियो । त्यसपछि निस्किएको अमृत भगवान् विष्णुले देवताहरूलाई मात्र पान गराउनुभएको र बाँकी रहेको अमृतको पिण्ड फालिएको स्थानमा पिण्डेश्वर महादेवको उत्पत्ति भएको मानिन्छ । यहाँ अमृतपिण्डका रूपमा भगवान् शङ्करको पूजार्चना गरिन्छ ।

पिण्डेश्वर बाबाधाम समितिकी सदस्य रन्जिता कटुवालका अनुसार मन्दिरमा दैनिक सरदर एक हजारभन्दा बढी दर्शनार्थी आउने गरेका छन् । यो सङ्ख्या सोमबार र शनिबार भने तीन हजार नाघ्ने गरेको छ । पितृलाई प्रशन्न तुल्याउन श्राद्ध गर्नेहरूको पनि यहाँ उल्लेखनीय भीड हुने गरेको छ । साथै यहाँ आर्थिक गतिविधिले पनि गति लिएको छ । विगत २१ वर्षदेखि पसल सञ्चालन गर्दै आउनुभएकी इन्दिरा खड्काले शनिबार र सोमबार आफूहरूलाई भ्याइनभ्याई हुने बताउनुभयो । उहाँले दिङ्लाबाट रुद्राक्ष खरिद गरी आफैँ माला तथा डाली तयार गरेर बिक्री गर्दै आउनुभएको छ । हाल पिण्डेश्वर बाबाधाम परिसरमा त्यस्ता ३० वटा फूल पसल सञ्चालनमा छन् ।बाहिरबाट हेर्दा पिण्डेश्वर मन्दिर साना देखिए पनि भित्र सानाठूला१० भन्दा बढी मन्दिर छन् । शिवालयको द्वारमा स्थापना गरिएको भीमकाय नन्दीको प्रतिमा, मन्दिरको पश्चिमतर्फ ऐतिहासिक पोखरी र इनार तथा त्यसको मध्यभागमा स्थापित देवी सरस्वतीको मूर्ति साँच्चै चित्ताकर्षक छ ।विशेषगरी साउनको पहिलो र अन्तिमसोमबार, अष्टमी, कात्तिक पूर्णिमा, माघे सङ्क्रान्ति, महाशिवरात्रि तथा तीजजस्ता पर्वमा यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको छ । साउनमा खाली खुट्टा सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वरबाबालाई अर्पण गर्ने भक्तहरूको पनि भीड लाग्ने गरेको छ । यसरी महादेवलाई जल चढाउँदा पाप पखालिने र मनोकामना पूरा हुने उनीहरूको विश्वास छ ।प्रत्येक छ वर्षमा चतरा धाममा लाग्ने ‘पिण्डेश्वर अर्धकुम्भ मेला’ तथा प्रत्येक १२ वर्षमा एक महिना सञ्चालन हुने ‘पिण्डेश्वर पूर्ण महाकुम्भ’ मा पनि असङ्ख्य भक्तजन यहाँ आउने गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206