मोरङ:सशस्त्र प्रहरी बलद्वारा विपद् उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ३ गण हेड क्वाटर कङ्कालनीले ‘विपद् उद्धार तथा प्रतिकार्यसम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम’ विराटनगर महानगर पालिका र सुनसरीको बर्जु गाउँपालिकाको सीमा क्षेत्रमा रहेको केशलिया खोलामा आज सम्पन्न गरेको हो । विपद् उद्धार कृत्रिम घटना अभ्यास कार्यक्रममा आगलागीबाट सुरक्षित निकाल्नु, बाढीपहिरोबाट जनधनको क्षति जोगाउन, खोलामा डुबिरहेको नागरिकको ज्यान जोगाउनुलगायत गतिविधि गरिएको थियो । वर्षायामको सुरुवातसँगै आउने सम्भावित प्राकृतिक विपद् (जस्तैः बाढीपहिरो, डुबान) बाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास कार्यक्रमको आयोजना गरिएको हो ।विपद्को समयमा तत्काल कसरी परिचालन हुने, घाइतेको उद्धार कसरी गर्ने र प्राथमिक उपचार कसरी पु¥याउने भन्ने विषयमा सशस्त्र प्रहरीका जवान तथा अधिकारीहरूले कृत्रिम घटनाको प्रयोगात्मक अभ्यास गरेका गरिएको थियो ।
विपद्को घडीमा सुझबुझले धेरैको ज्यान जोगाउन सकिने हुनाले सुरक्षा निकायलाई सधैँ तयारी अवस्थामा राख्न यस्ता अभ्यास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बलले जनाएको छ । मोरङ जिल्ला प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गाउँघरमा उपलब्ध स्थानीय सामग्रीको प्रयोगबाट बाढीपहिरोको जोखिमका समयमा उद्धार गर्न सकिने बताउनुभयो । उहाँले स्थानीय पालिकाको सानो रकमको सहयोगबाट विपद्का समयमा नागरिकको जनधनको रक्षा गर्न सकिने भन्दै यसका लागि बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायत सशस्त्र प्रहरी कङ्कालनीका प्रमुख गेहेन्द्रबहादुर भण्डारी, जिल्ला प्रहरी मोरङका प्रमुख कवित कटुवाल, स्थानीय, रेडक्रसका प्रतिनिधिलगायत उपस्थिति रहेको थियो ।
