काठमाडौं:जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा आगामी तीन दिनसम्म अत्यधिक गर्मी र तातो लहरको जोखिम रहने चेतावनी दिएको छ ।
विभागले बिहीबार विशेष बुलेटिन जारी गर्दै कोशी, मधेश, लुम्बिनीसहित विभिन्न प्रदेशका १४ जिल्लामा मध्यम तातो लहर चल्ने सम्भावना रहेको जनाएको हो ।विभागका अनुसार बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा तातो लहरको प्रभाव देखिने सम्भावना छ ।त्यस्तै, कञ्चनपुर, कैलाली, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन, सुनसरी, मोरङ र झापामा पनि अत्यधिक गर्मी कायम रहने विभागले जनाएको छ । विभागका अनुसार आगामी तीन दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ ।
मधेश र लुम्बिनीका केही स्थानमा मध्यम तातो लहर चल्ने तथा अन्य प्रदेशका तराई भू–भागमा तातो दिनको अवस्था रहने सम्भावना छ । तातो हावा र तातो लहरका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, मांसपेशी दुख्ने, बान्ता हुने तथा बेहोससम्म हुन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।विभागले दिउँसोको अत्यधिक गर्मीमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, चर्को घाममा बाहिर ननिस्किन, हल्का र सुतीका कपडा लगाउन, बाहिर जाँदा टाउको छोप्न तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएको छ । स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
