विराटनगर:कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१÷८२ वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
उहाँसमक्ष महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक शिवकुमार राईले कार्यालयको वार्षिक प्रतिवेदन आज पेस गर्नुभएको हो । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले आर्थिक अनुशासन कायम गराउन प्रतिवेदन कोशेढुङ्गा सावित हुने बताउनुभएको छ ।उहाँले सरकारी कार्यालयमा आर्थिक अनियमितता रोक्न, बेरुजु बढ्न नदिन र भ्रष्टाचार न्यूनीकरण गर्न महालेखा परीक्षकको कार्यालय क्रियाशील रहेको जनाउँदै फजुल खर्च रोक्न महालेखालाई सधैँ गम्भीर भएर लाग्न सुझाव दिनुभयो ।
त्यस अवसरमा नायब महालेखा परीक्षक राईले सङ्घीय शासन प्रणाली सुरु भएदेखि आठ वर्षको लेखा परीक्षण भइसकेको जानकारी दिनुभयो । उहाँले ७५३ वटा स्थानीय तहमा ७२१ पालिकाको लेखा परीक्षण भइसकेको जानकारी दिँदै जेन्जी आन्दोलनका क्रममा कागजपत्र तथा अभिलेख नष्ट भएका पालिकाहरूको मात्र लेखा परीक्षण हुन नसकेको बताउनुभयो ।
