

विराटनगर । भोलि (बिहीबार)देखि विराटनगरमा सुरु हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । यस अघि समिति मार्फत हुँदै आएको फुटबल प्रतियोगिताको यस वर्ष विराट गोल्डकप ट्रष्टले आफै आयोजना गर्दैछ । ट्रष्टले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
ट्रष्टका अध्यक्ष तथा फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष किशोरबहादुर शाहीले २०८० साल चैत्र १५ देखि २४ गतेसम्म विराटनगर स्थित शहिद रंगशालमा आयोजना हुन लागेको फुटबल प्रतियोगितामा नेपालका ७, भारतका २ र भुटानका १ गरी ३ देशका १० टोलीको सहभागिता रहने बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा भोलि उद्घाटनमा विभागीय टोली नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेता टोलीले ५ लाख ५० हजार नगद सहित शिल्ड प्राप्त गर्ने छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार, उत्कृष्ट गोल रक्षकलाई नगद २१ हजार, सर्वाधिक गोल कर्तालाई नगद २१ हजार, प्रत्येक दिन खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गर्ने अध्यक्ष शाहीले बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराट गोल्डकप डे नाइट फुटबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।