

विराटनगर । वाफ महिला च्याम्पियनसिपको उपाधिको लागि नेपालले र जोर्डनबीच आज बेलुकी खेल हुँदै छ । वाफमा पहिलो पटक सहभागी भएको नेपाली टोली उपाधिको मुख्य दावेदारका रुपमा हेरिएको छ । आज ५ पटकको उपाधि विजेता जोर्डन र पहिलो पटक सहभागी भएको नेपालबीचको खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।
फाइनल खेल साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने छ । वाफ च्याम्पियनसिपमा नेपालले शानदार खेल प्रदर्शन गरिरहेको छ । समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो । जोर्डनले सेमिफाइलनमा प्यालेस्टाइनलाई ५–० ले पराजित गरेको थियो ।
तर उपाधिको लागि आज हुने फाइनल खेल स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा गुमाउँदै छिन् । फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिहरूमा आयोजित प्रतियोगिता र टूर्नामेंटहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति दिन्छ । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डो भित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल गुमाउने छिन् ।