

काठमाडौं । त्रिकोणात्मक टी २० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अल आउट हुँदा १ सय ८६ रन मात्र जोड्न सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए । विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ४८ रन बनाएका ऐरी १८।४ ओभरमा रुबेन ट्रम्पलम्यानको बलमा क्याच आउट भए । उनी आउट हुँदा नेपाललाई जितका लागि ८ बलमा २० रन चाहिएको थियो । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाका निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतक प्रहार गरे । नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो । लोफ्टी इटनले १ सय १ रन बनाए । उनले ३३ बलमा शतक पूरा गर्दा कुशल मल्लको कीर्तिमान तोडियो । मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रन बनाएर रेकर्ड राखेका थिए । लोफ्टी इटनले ३३ बलमै शतक पूरा गरेर मल्लको कीर्तिमान तोडेका हुन् । लोफ्टीले ११ चौका र ८ छक्का हाने । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक एक विकेट लिए ।