२० मंसिर २०८२, शनिबार

अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप

Logo
Pulse Khabar आइतबार, आश्विन २६, २०८२

राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ ।

ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गर्नुभएको थियो । उहाँले नोभेम्बर १ देखि लागू हुने गरी नयाँ करहरू थप्ने र ‘महत्त्वपूर्ण सफ्टवेयर’ निर्यातमा नियन्त्रण लगाउने निर्णयसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आगामी भेट रद्द गर्ने धम्की पनि दिनुभएको छ ।

आइतबार चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको उक्त कर धमकीलाई ‘दोहोरो मापदण्डको स्पष्ट उदाहरण’ भन्दै कडा प्रतिक्रिया जनाएको छ । मन्त्रालयले वासिङ्टनले सेप्टेम्बरदेखि नै बेइजिङविरुद्ध आर्थिक दबाबका कदमहरू चालेको स्मरण गराउँदै भनेको छ, “हरेक पटक उच्च करको धम्की दिनु चीनसँग व्यवहार गर्ने सही उपाय होइन ।”

राष्ट्रपति ट्रम्पले चीनमाथि फेन्टानिल व्यापारमा संलग्नता र अनुचित व्यापार अभ्यास गरेको आरोप लगाउँदै अहिले चिनियाँ सामानहरूमा ३० प्रतिशत अमेरिकी कर लगाउनुभएको छ भने चीनले जवाफमा १० प्रतिशत कर लगाइरहेको छ ।

दुर्लभ पृथ्वी तत्वहरू दुई महाशक्तिबीचको हालैको व्यापार वार्ताको प्रमुख विवाद बनेका छन् । यी तत्वहरू स्मार्टफोन, विद्युतीय सवारी साधन, सैन्य उपकरणदेखि लिएर नवीकरणीय ऊर्जा प्रविधिसम्मका उत्पादनमा अत्यावश्यक छन् । चीनले यस्ता खनिजहरूको विश्वव्यापी उत्पादन र प्रशोधनमा प्रभुत्व जमाइरहेको छ ।

गत बिहीबार चीनले महत्त्वपूर्ण खनिजहरूको उत्खनन र प्रशोधनका लागि प्रयोग हुने प्रविधिमा नयाँ निर्यात नियन्त्रण घोषणा गरेको थियो । त्यसको जवाफमा राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै चीनले ‘अत्यधिक शत्रुतापूर्ण’ व्यवहार गरेको र ‘विश्वलाई बन्धक बनाउन खोजेको’ आरोप लगाउनुभयो ।

अमेरिकी नेताले यस महिनाको अन्त्यतिर दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा राष्ट्रपति सीसँगको प्रस्तावित भेटबाट पछि हट्ने धम्की पनि दिनुभएको छ । जनवरीमा ट्रम्प पुनः सत्तामा फर्किएपछि दुवै नेताबीच हुने यो पहिलो प्रत्यक्ष भेट हुने अनुमान गरिएको थियो ।

केही महिनाअघि बेइजिङ र वासिङ्टनबीच व्यापार युद्धको असहज युद्धविराममा सहमति भएको थियो । यद्यपि पछिल्ला घटनाक्रमले तनाव पुनः बढाएको छ । गत शुक्रबार चीनले ‘रक्षात्मक कदम’ भन्दै अमेरिकामा सञ्चालित र निर्मित जहाजहरूमा ‘विशेष बन्दरगाह शुल्क’ लागू गर्ने घोषणा गरेको थियो । चीनले यो कदम अमेरिकाले आफ्ना जहाजहरूमा लगाएको बन्दरगाह शुल्कको प्रतिकारका रूपमा लिएको बताउँदै उक्त शुल्कले ‘चीनको हितलाई गम्भीर क्षति पुर्‍याएको’ आरोप लगाएको छ ।

अमेरिकाले गत अप्रिलमा आफ्नै जहाज निर्माण उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्यले ती शुल्कहरू घोषणा गरेको थियो । यो उद्योगमा चीन र अन्य एसियाली मुलुकहरूको दशकौँ लामो प्रभुत्व रहेको मानिन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206