

हिजो सोह्र श्राद्ध सुरु भएको दिन सरकारले १९ जना किशोर किशोरीको हत्या मार्फत १६ मा ३ थपेर १९ श्राद्ध मनायो।मूर्खहरुको नेतृत्व महामूर्खले गरेको शासनमा जे हुनु थियो त्यही भयो। भ्रष्टाचारको अन्त्य, सुशासन, जनताको नेतृत्वमा जनताको शासन प्रकृया र जनतालाई अपमानित गर्दै निजी सुखसयलमा लिप्त हुने अपराधी चरीत्रहीन बिचौलियाप्रिय नेतृत्वको संस्कारबाट आजित पीडित अभिभावकको आँशु अञ्जुलीमा लिएर बिलौना गर्न गएका बिद्यालयका बिद्यार्थी मारिए।प्रधानमन्त्रीको दम्भ र अहंकार अनि बहुमुखे हुकुमको त के कुरा भयो।सडकमा बालिका ठोक्किँदा देखि जेनजीको आन्दोलनको बारेमा उनले कहाँ गरे र टिप्पणी ? उनले त हुकुम फर्माए।किन हुकुम प्रतिको यस्तो आशक्ति? किन हरेक प्रलाप गर्नमा आतुरता ? मुखमा त लुतो नलाग्नु पर्ने !
(१):इण्डोनेशियाको जनसंख्या साढे २८ करोड छ। त्यहाँ संसद भवनमा आन्दोलनकारीले आगो लगाइदिए।सांसदहरुको अकर्मण्यता लालच र आत्मा बन्धकी राखेर नेताको पाउमा लम्पसार हुने प्रवृत्ति देखेर वाक्कदिक्क थिए जनता।जति बोले पनि सुनुवाइ नहुने ढाँचा सँग आक्रोशित थिए। तर पनि सरकारले मान्छे मारेन। राष्ट्रपतिले भने हामी अर्को भवन बनाउन सक्छौँ, तर उही नागरिक पुनर्निर्माण गर्ने क्षमता हामीलाई परमेश्वरले दिएका छैनन्। अहिले प्रधानमन्त्री केपी ओली भन्दै हुनुहुन्छ, सरकारी भवनमा तोडफोड गर्न थालेकोले गोली चलाएर जोगाउनु पय्रो।
(२): रफ्फूगिरहरु चलमलाएका छन्। भन्दैछन्, घुसपैठको कारण यस्तो भयो।,(क): किन हुन्छ घुसपैठ? के कारणले हुन्छ घुसपैठ? घुसपैठ हुनसक्ने गरी राज्य संरचना, व्यवहार र कार्यशैली लाई फ्याङ्तू कसले बनायो? (ख): आन्दोलनकारीले यो कुरा बेलैमा सार्वजनिक गरेर आन्दोलनकारीलाई फर्किन आव्हान गरेका थिए।त्यो सूचनालाई ब्यापक प्रचार गर्ने कि लम्पट सुत्ने? लम्पट सरकार!
(३): सुरक्षा निकायले विगत एक दशकभन्दा बढीदेखि भनिरहेको छ कि कम घातक तर प्रभावशाली भीड नियन्त्रणको प्रविधि र सामाग्री बेगर आजको बिरोध समन गर्न सकिन्न।तर सरकारलाई फुर्सत छैन।कता ब्यस्त? अपराधी आफन्त जोगाउन? कि भ्रष्टाचारका तमाम घटनाको कारवाही सके तामेलीमा राख्न अथवा सुस्त पार्न ?
(४): चाटुकार चाप्लुस के सोचिरहेका छन्, थाहा छैन।तर रैथाने दल र त्यसमा पनि काँग्रेस एमालेका इमानीहरुलाई चिन्ता लागेकै होला, भोली कुन मुखले पार्टीको पक्षधरताको वकालत गर्ने होला भनेर।एमालेले त मिसन ८४ मा एकल ओली बा को नेतृत्वमा सोरपटार बहुमत ल्याउने निर्णय गरिसकेको छ।
(५): राष्ट्रको मर्यादा स्खलित भएको छ।नागरिकको शीर नुहेको छ।४० प्रतिशत जनताको प्रतिनिधित्व गर्ने युवा समुदाय रीसले आगो छन्। रिसाएको पण्डितले वेद पढदैन्। हाम्रो पुस्ताले हरेक आन्दोलनलाई दलको पकडबाट उछिट्टिन दिएनौँ।तर अब त्यो ल्याकत हाम्रो हातबाट यीनै दम्भी अहंकारी नेताले खोसिसके।अहिलेको पुस्ता हामीलाई Loyal Generation आज्ञाकारीता मात्र भएको असान्दर्भिक ठान्छ।
(६): उपाय के होला ? हाम्रो पुस्ताले आधुनिक नेपालको शताब्दी देखिको लोकतान्त्रिक आन्दोलनमा हण्डर ठक्कर खाँदै भएपनि हिम्मत हारेन। एउटा तर अक्ष्यम्य बाहेक गल्ती गरेन। त्यो गल्ती भनेको नेतालाई जनआधारित कार्यकर्ताको निरन्तर निगरानी अनुगमन र मूल्याङ्कनको मातहतमा राख्न चाहिँ सकेन।अहिले पनि त्यही सोँचका साथ तत्कालै आकस्मिक वा अल्पकालीन वा विशेष प्रकृया थाल।बिचार र बिचारको आलोकमा चल्ने व्यवहारलाई स्थापित गर।खुला खुलस्त सहृदयी होउ। बेइमानीबाट मुक्त बन र कमसेकम तत्कालै लम्पसार परेका अहंकारी नेतृत्वका पाउपोषकहरुलाई तथाकथित वरिष्ठ मान्दै तीनलाई पदमा राखिरहने होइन उ.. पर हुत्याउने आँट गर। देशमा निर्वाचित निरंकुशताले पकड जमाएको बेला छ। न्यायालय सु-मोटो गर्न सक्दैन।व्यवसायीलाई आ-आफ्नो व्यवसायकै चिन्ता बढी छ। भविष्यको चिन्ता त तीनलाई मात्र छ, जो आफ्नो भविष्य निर्वाध रुपमा आफै बनाउने स्वतन्त्रता चाहन्छन्।तीनको बाटोमा बाधक बनेका छन् किर्नाहरु।तीनलाई नष्ट गर्नु र फेरि प्रादुर्भाव हुन नदिने प्रवन्ध गर्नु आजको मूख्य चुनौती हो।
(७): मेरा शब्दहरु शहादत प्राप्त गर्ने हिजोको आन्दोलनका शहीदहरु प्रति समर्पित छ।यसरी मात्र हामी असल श्रद्धाञ्जली दिन सक्छौँ, शोकलाई शक्तिमा बदल्न सक्छौँ।
हार्दिक नमन, तन्नेरी सपनाका शहीदहरु। हार्दिक श्रद्धाञ्जली सहितको ऐक्यबद्धता।