काठमाडौं:नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज (बिहीबार)देखि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।
दुई दिनसम्म चल्ने बिक्री बबरमहलस्थित टक्सार महाशाखाबाट हुनेछ ।राष्ट्र बैंकका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का खरिद गर्न सकिनेछ । यसपटक ३५ किलो सुन खरिद गरी असर्फी उत्पादन गरिएको छ । गत वर्ष सुन अभावका कारण चाँदीका सिक्का मात्रै बिक्री गरिएको थियो ।एक जनाले २.५ ग्रामको एउटा सुनको असर्फी र १० ग्रामका बढीमा तीनवटा चाँदीका सिक्का किन्न पाउनेछन् । चाँदीका सिक्कामा लक्ष्मी, गजलक्ष्मी र गणेशको आकृति अंकित छन् ।
सिक्काको मूल्य बिक्री हुने दिनको सुनचाँदीको बजार मूल्य र उत्पादन लागतका आधारमा निर्धारण हुनेछ । त्यसैले बजार मूल्यभन्दा केही बढी रकम तिर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।खरिदका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुल्ने अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था मिलाइएको छ ।
