१६ कार्तिक २०८३, आइतबार

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

Logo
Pulse Khabar आइतबार, कार्तिक १६, २०८३

इलाम: अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् ।

मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि व्यावसायिक अकबरेखेती गर्दै आएका जिल्लाका किसान चिन्तित बनेका हुन् । बोट एकाएक पहेँलिने र मर्ने समस्या देखिएको माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईले बताउनुभयो । अकबरे खुर्सानीमा फल लाग्न थालेसँगै पात पहेँलिने, हाँगा सुक्ने र पूरै बोट मर्ने समस्या देखिएको उहाँले बताउनुभयो ।राम्रो आम्दानीको अपेक्षा गरेका राईको अकबरे खुर्सानी बगानमा एकाएक रोग देखापरेको हो । उहाँले बारीमा लगाउनुभएको अधिकांश बोट मर्न थालेका छन् । सुरुमा बोट राम्रोसँग हुर्किए पनि उत्पादन सुरु भएसँगै पाक्ने बेलामा डढ्ने, कुहिने र बोट मर्न थालेपछि आफू चिन्तित भएको उहाँले बताउनुभयो । राईले विगत दुई वर्षदेखि व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै आउनुभएको छ । अघिल्लो वर्ष अकबरे खुर्सानी बेचेर रु तीन लाख ५० हजार हात पार्नुभएका उहाँले यस वर्ष आम्दानी अझ बढाउने उद्देश्यका साथ खेती विस्तार गर्नुभएको थियो । राईले यस वर्ष दुई रोपनी क्षेत्रफलमा एक हजार ८०० बोट अबकरेको बिरुवा रोप्नुभएको थियो । तर एकाएक बोट मर्न थालेपछि लगानी नै नउठ्ने भएपछि उहाँ चिन्तित बन्नुभएको हो ।

“यस वर्ष उत्पादन बढाउने उद्देश्यले अकबरे खुर्सानीको खेती विस्तार गरेको थिएँ”, उहाँले भन्नुभयो, “तर बोट हुर्किएर फल लाग्न थालेपछि फलको आधा भाग डढ्ने, कालो हुने र कुहिने समस्या बढ्यो । यसले गर्दा सबै लगानी डुब्यो ।”प्रदीप जस्तै व्यावसायिक रूपमा खेती गरिरहेका त्यहाँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । अर्का किसान जीवन राईका अनुसार खुर्सानीमा फलमा फलमा डढुवा लाग्ने, कीरा लाग्ने, बोट पहुँलो हुने र कहिने समस्या देखिएको बताउनुभयो ।“अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने आशाले अन्नबाली हुने बारीमा दुई हजार बोट अकबरे खुर्सानीको बोट रोपेको थिएँ”, उहाँले भन्नुभयो, “तर फल लाग्ने समयमा रोगको प्रकोप देखिएपछि उत्पादन लिनै नपाई अधिकांश बोट नष्ट भए । मिहिनेत र लगानी दुवै खेर गएपछि अहिले के गर्ने भन्ने चिन्ता थपिएको छ ।”खुर्सानी पाक्ने र टिप्ने समयमा डढुवा लाग्ने, कीरा पर्ने, बोट सुक्नेजस्ता रोग फैलिएपछि किसान समस्यामा परेको अर्की किसान कल्पना राईले बताउनुभयो ।

रोगको सङ्क्रमण सुरु भएको एक महिनामा बारीको खुर्सानी पूर्ण रूपमा नष्ट भएको उहाँले बताउनुभयो ।रोगका कारण किसानको वर्षभरिको मिहिनेत खेर गएको उहाँको गुनासो छ । “यो वर्ष एकाएक खुर्सानीमा रोगको प्रकोप बढेको छ”, उहाँले भन्नुभयो, “फल लागेको खुर्सानीको बगान सखाप भयो, मिहिनेत सबै खेर गयो । अब अन्य बाली लगाउन थालेको छु ।”यहाँ उत्पादित अकबरे स्थानीय बजारसहित झापाको दमक बजारमा पुग्ने गर्दछ । स्थानीय व्यापारीले प्रतिकेजी रु २०० देखि २५० सम्ममा बगानबाटै खरिद गरेर लैजाने गरेका छन् । इलाममा पछिल्लो समय परम्परागत खाद्यान्न बालीको विकल्पका रुपमा अकबरे खुर्सानीको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढ्दो छ । नगदे बालीका रूपमा राम्रो आम्दानी दिने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206