ताप्लेजुङ: पाकेको धान र कोदो थन्क्याउने समयमा वर्षा भएपछि ताप्लेजुङका किसानलाई समस्या भएको छ ।
जिल्लाका प्रायः स्थानमा धान र कोदो पाकेर पहेँलपुर भएका छन् । तर, दुई दिनदेखिको वर्षाका कारण पाकेको बाली थन्क्याउन कठिन भएको किसानले बताएका छन् । सिरिजङ्घा गाउँपालिका–७ का किसान श्याम राईले पाकेको अन्नबाली थन्क्याउने समयमा वर्षा भएपछि चिन्ता बढेको बताउनुभयो । “अहिलेसम्म हावाहुरी र असिना परेको छैन । तर, हावाहुरी चल्ने वा ठूलो वर्षा हुने हो भने धान ढल्ने र झर्ने समस्या हुन सक्छ भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो ।जिल्लाका अधिकांश किसानलाई यतिखेर अलैँची टिप्ने र सुकाउने चटारोसमेत छ । वर्षाका कारण अलैँची बगानमा काम गर्न पनि समस्या भएको किसानले बताएका छन् ।
अलैँची टिपिसकेका किसानलाई भने वर्षाले केही राहत दिएको छ । अलैँची टिपेपछि वर्षा हुँदा सिँचाइ हुने भएकाले बोट सुक्न र मर्नबाट जोगिने अलैँची किसान रश्मी आचार्यले बताउनुभयो ।बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण जिल्लाको मौसम दुई दिनदेखि प्रतिकूल बनेको छ । गए रातिदेखि जिल्लाभर वर्षा भइरहेको छ । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने वर्षा र हिमपातसँगै चिसोसमेत बढेको स्थानीयले बताएका छन् ।
