१३ कार्तिक २०८३, बिहिबार

भीषण रेल दुर्घटना: मृतकको संख्या ६८ पुग्यो, उद्धार कार्य जारी

Logo
Pulse Khabar बिहिबार, कार्तिक १३, २०८३

एजेन्सी:मध्य स्पेनमा दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या कम्तीमा ६८ पुगेको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् ।

दुर्घटनामा रेलका डब्बाहरू लिकबाट खसेर भिरमा पुगेका थिए । भग्नावशेषमा यात्रुहरू च्यापिएपछि उद्धारकार्यसमेत कठिन बनेको थियो ।बुधबार बिहान करिब ९ बजे म्याड्रिडबाट सेभियातर्फ जाँदै गरेको रेल लिकमै रोकिएको अवस्थामा अर्को रेलसँग ठोक्किएको थियो । ठक्करको तीव्रताका कारण डब्बाहरू क्षतिग्रस्त हुनुका साथै यात्रुहरू एकअर्कामाथि खप्टिएका थिए । केही डब्बामा यात्रुहरू च्यापिएका थिए भने एउटा डब्बामा आगलागीसमेत भएको थियो ।प्रारम्भिक विवरणअनुसार निजी रेल कम्पनी इरियोद्वारा सञ्चालित रेलमा १४७ जना यात्रु सवार थिए । कम्प्युटर प्रणालीमा समस्या आएपछि रेल लिकमै रोकिएको स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले बताएका छन् । उनका अनुसार त्यसपछि रेल सञ्चालन व्यवस्थापनमा भएको निर्णयले दुर्घटनाको जोखिम बढाएको हुन सक्ने देखिएको छ । घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।इरियो कम्पनीका अनुसार सरकारी रेल कम्पनी रेन्फेद्वारा सञ्चालित अर्को रेलले पछाडिबाट ठक्कर दिएको थियो । उक्त रेलमा ३९७ जना यात्रु सवार रहेको बताइएको छ ।दुर्घटनापछि घटनास्थलमा एम्बुलेन्स, उद्धारकर्मी तथा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट अस्पताल पुर्‍याइएको थियो । भग्नावशेषमा फसेका यात्रुको उद्धारसँगै मृतकको पहिचान गर्ने काम पनि अघि बढाइएको छ । स्पेनको सिभिल गार्डले केही मृतकको पहिचानका लागि आफन्तको डीएनए नमुना आवश्यक पर्न सक्ने जनाएको छ ।दुर्घटनामा बाँचेका यात्रुहरूले आफूहरूले भोगेको अवस्था निकै भयावह रहेको बताएका छन् । ठक्करपछि यात्रुहरू सिटबाट उछिट्टिएका थिए भने बाहिर निस्कन झ्याल फुटाउनु परेको थियो । कतिपय मानिस सिटको बीचमा च्यापिएर हल्लिनसमेत नसकेको यात्रुहरूले बताएका छन् ।रेन्फेको रेलमा यात्रा गरिरहेका ६२ वर्षीय साल्भाडोर अरिजाका अनुसार ठक्करपछि यात्रुहरूले झ्याल फुटाएर बाहिर निस्कने प्रयास गरेका थिए । दुर्घटनास्थलमा घाइतेहरू रगतले लतपतिएको अवस्थामा भेटिएका थिए भने केही यात्रु भग्नावशेषमुनि पुरिएका थिए ।इरियोको रेलमा सवार २२ वर्षीय ताङ्गुई बिनिएरले ठक्करपछि झोला हावामा उडेको र यात्रुहरू चिच्याएको बताए । रेल रोकिएपछि बाहिर निस्कँदा डब्बा पल्टिएको अवस्थामा देखेको उनले सुनाए । उनका बुवाले कम्मरको हड्डी भाँचिएकी एक बालिकालाई भग्नावशेषबाट बाहिर निकालेका थिए ।

दुर्घटनाका बेला रेन्फेको रेलमा रहेका स्पेनी पत्रकार एन्टोनियो जिमेनेज बार्का पनि घाइते भएका थिए । उनीमाथि अन्य यात्रु खप्टिएका थिए । अर्का यात्रु सेबास्टियन हेरेरोले ठक्करपछि आफू केही सेकेन्ड हावामा उछिट्टिएको अनुभूति भएको बताएका छन् ।घटनाले स्पेनभर शोक छाएको छ । घटनास्थलको निरीक्षण गरेका प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनाबाट प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै देश नै शोकमा डुबेको बताएका छन् ।मुख्य विपक्षी दल पिपुल्स पार्टीका नेता अल्बर्टो नुनेज फेइहोले भने देशको पूर्वाधारमा भइरहेको अवस्थाका बारेमा नागरिकले स्पष्ट जानकारी पाउनुपर्ने बताएका छन् । दुर्घटनाको कारण, रेल सञ्चालन प्रणाली र सुरक्षा व्यवस्थामाथि प्रश्न उठिरहेका बेला अनुसन्धानबाट वास्तविक तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ ।स्पेनमा यसअघि पनि गम्भीर रेल दुर्घटना भएका छन् । सन् २०१३ मा सान्टियागो डे कम्पोस्टेलामा भएको रेल दुर्घटनामा ८० जनाको मृत्यु भएको थियो । पछिल्लो घटनाले रेल सुरक्षासम्बन्धी व्यवस्थामाथि प्रश्न उठाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206