काठमाडौँ: मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, प्रभावित व्यक्तिलाई मनोसामाजिक सहयोग तथा पुनःस्थापनाका लागि नेपाल र भारतका दुई संस्थाले एकापसमा सहकार्य गर्ने भएका छन् ।
भारतको गोवास्थित गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनःस्थापना केन्द्र र नेपालको ललितपुरस्थित युनाइटेड फेलोसिप नेपाल (युएफएन) को संयुक्त आयोजनामा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको हो ।‘स्वस्थ भोलिका लागि सँगै अघि बढौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी समस्याबारे जनचेतना फैलाउने, प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा उनीहरूको जीवन सहज र सम्मानजनक बनाउन सामाजिक सहयोग र संस्थागत सहकार्यको आवश्यकतामा जोड दिइएको थियो ।कार्यक्रमअन्तर्गत गोवामा दुवै संस्थाका प्रतिनिधिबीच संयुक्त बैठक आयोजना गरिएको थियो । बैठकमा गाना गोवाका मनोचिकित्सक डा प्याट्रिक र मनोसामाजिक परामर्शदाता फ्रान्सिस्को फर्नान्डिस तथा युनाइटेड फेलोसिप नेपालका संस्थापक अध्यक्ष सुजिन महर्जन सहभागी हुनुहुन्थ्यो ।
बैठकमा मानसिक स्वास्थ्यका क्षेत्रमा अनुभव आदानप्रदान, मनोसामाजिक सहयोग विस्तार तथा पुनःस्थापनासम्बन्धी कार्यक्रमलाई अघि बढाउने विषयमा छलफल भएको महर्जनले जानकारी दिनुभयो । मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित व्यक्तिलाई आवश्यक परामर्श, सहयोग र पुनःस्थापनाको अवसर उपलब्ध गराउँदै उनीहरूप्रति सकारात्मक दृष्टिकोण विकास गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।महर्जनले नेपाली टोलीलाई न्यानो स्वागत र आत्मीय आतिथ्य प्रदान गरेकामा गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनःस्थापना केन्द्रको टोलीप्रति आभार व्यक्त गर्नुभएको थियो । दुवै संस्थाबीचको सहकार्यबाट आगामी दिनमा मानसिक स्वास्थ्य सचेतना, मनोसामाजिक सहयोग तथा पुनःस्थापनाका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
