

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकबाट ८ वटा प्रस्ताव पारित भएको छ । सोमबार र मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले ७ वटा महत्वपूर्ण निर्णयसँगै शोक प्रस्तावसमेत पारित गरेको हो ।
बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । भण्डारी पार्टीमा सक्रिय हुन खोजिरहेको र सदस्यता नवीकरणबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो निर्णय गरिएको एमालेले स्पष्ट पारेको छ ।
बैठकले दैलेखमा मिथेन ग्याँस भण्डारण भएको पुष्टि, श्रमिकहरूको ज्याला वृद्धि, राजावादी आन्दोलनको असफलता, र सहकारीमा भइरहेको सुधारका कारण जनतामा आशा जागेको निष्कर्ष निकालेको छ ।
साथै, नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमतिलाई दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै एमालेले सरकारलाई थप प्रभावकारी बनाउन गठबन्धनका सबै दलहरुलाई आह्वान गरेको छ ।
बैठकले देशमा देखिएका भ्रष्टाचार र ढिलासुस्तीका घटनामा गम्भीर आपत्ति जनाउँदै सुधारका लागि सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ । सहकारी क्षेत्रलाई उत्पादनमुखी र पारदर्शी बनाउन विशेष कार्यक्रम ल्याउने र प्राकृतिक विपत्तिबाट बच्न राहत र उद्धारको तयारी गर्न सबै तहका कार्यकर्तालाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले दलभित्रको एकता सुदृढ गर्दै आगामी आन्दोलनका कार्यक्रम तय गर्न संगठनलाई जनतामुखी बनाउने कार्ययोजना पनि अघि सारेको छ ।