

काठमाडौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) अझ व्यवस्थित ढंगले आयोजना हुने बताएका छन् ।
खेलकुद मन्त्रालयले आज आयोजना गरेको ‘युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा मन्त्री चौधरीले एनपिएलको पहिलो संस्करणपछि अख्तियारमा उजुरी परे पनि प्रतियोगिता ऐन, नियमावलीअनुसार निरन्तर हुने स्पष्ट पारे । उनले भने, “खेलकुद विकास ऐन र खरिद आदेश ऐनको परिधिभित्र रहेर एनपिएल व्यवस्थितरूपमा हुन्छ ।”
उनले पत्रकारहरुलाई सत्य, निष्पक्ष र विश्वसनीय समाचार लेख्न आग्रह गर्दै समाजमा आवाजविहीनको आवाज बुलन्द गरिदिन आग्रह गरे । युवाको जागरण, उद्यमशीलता र रोजगारीजस्ता क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले मन्त्रालयले युवा पत्रकारिता पुरस्कार स्थापना गरेको मन्त्री चौधरीले बताए ।
पुरस्कार ग्रहण गर्ने पत्रकारलाई शुभकामना दिँदै उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न पत्रकारहरुको भूमिकालाई अझ प्रभावकारी बनाउन समेत आग्रह गरे ।