काठमाडौँ: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६औँ फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडिलाई बिदाइ गर्नुभएको छ ।
नेपाल बुद्धिचाल महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रम उहाँले यही सेप्टेम्बर १४ देखि २८ सम्म उज्वेकिस्तानको समरकाण्डमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई बिदाइ गर्नुभएको हो ।कार्यक्रममा मुख्यमन्त्री थापामगरले प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारले खेलाडीको मन उच्च बनाउनका लागि खेलकुद क्षेत्रमा ठूलो लगानी गरेको उल्लेख गर्नुभयो ।
“खेलाडीले जित्नु भनेको देशले जित्नु हो, बुद्धिचाल प्रतियोगिता बुद्धि लगाएर खेल्नुपर्छ, उच्च मनोबलका साथ खेल्नुहोस्”, मुख्यमन्त्री थापामगरले भन्नुभयो । उहाँले बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशभित्रका १३ जिल्ला र ११९ पालिकामा नै खेलकुदसम्बन्धी पूर्वाधार निर्माण गरिरहेको बताउनुभयो ।कार्यक्रममा प्रतियोगितामा भाग लिन जान लागेका पाँच महिला खेलाडी कृतिसरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ, सिन्दिरा जोशी र पाँच पुरुष खेलाडी रूपेश जयसवाल, सुश्रुत दाहाल, पुरुषोत्तम सिलवाल, आशिष फुँयाल र राजन सुवेदीलाई बिदाइ गरिएको थियो ।
