२६ भाद्र २०८३, शुक्रबार

चलायमान बन्दै कोरला नाका

Logo
Pulse Khabar बिहिबार, भाद्र २५, २०८३

मुस्ताङ: तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै सीमित थियो । कोभिड महामारीअघि चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा बर्सेनि असार र भदौ महिनामा सीमित समयका लागि मात्रै कोरला नाकाको ढोका खुला हुन्थ्यो ।

नेपाल–चीन सीमावर्ती क्षेत्रका नागरिकका लागि दैनिक उपभोग्य वस्तुहरुको किनमेल गर्न चीन पक्षले कोरला नाकाको तिब्बती भूमिमा अल्पकालीन अन्तरदेशीय व्यापार मेला चलाउथ्यो । कोभिडका कारण एकपक्षीय रुपमा चीनले लगातार चार वर्ष कोरला नाका पूर्ण रुपमा बन्द ग¥यो ।

कोभिडका कारण चार वर्ष बन्द रहेको नेपाल–चीन उत्तरी कोरला नाका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमण गरेलगत्तै २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका दुई गाउँपालिकाका नागरिकका लागि बाह्रै महिना खुला गरिएको थियो । लामो समयदेखि बन्द कोरला नाकालाई चीन पक्षले बाह्रै महिना उपल्लो मुस्ताङका नागरिकलाई खुला गरेपछि सीमावर्ती क्षेत्रका नागरिकमा खुसी पलायो ।

बन्द रहेको नाका खुलाउनुअघि चिनियाँ पक्षले नेपाली पक्षलाई सहभागी गराई तामझामका साथ आतसबाजी गरी औपचारिक रुपमा नाका खुला भएको सन्देश दिएको थियो । तर, चिनियाँ पक्षले सबै नेपालीका लागि खुला गरेको भने थिएन । उपल्लो मुस्ताङका नागरिकलाई मात्रै खुला गरिएको कोरला नाकामा पछि तल्लो मुस्ताङी नागरिकलाई पनि सीमापार पास वितरण गरी (नेचुङ–लिजी) आउजाउ सहज पारियो ।

नेपाल–चीन उत्तरी कोरला नाका मुस्ताङी नागरिकका लागि बाह्रै महिना खुला गरिए पनि नाकामा हुने निकासी तथा पैठारीको कारोबार झिनो परिमाणमा स्थानीयस्तरमै सीमित थियो । सीमामा बस्ने नागरिक र केही तल्लो भेकमा मुस्ताङले घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य बस्ती चीनको कोरलास्थित लिजी हाटबजारबाट खरिद गरी ल्याउथे तर चिनियाँ पक्षले भने निकासीतर्फ नेपालीलाई सीमित मात्रै मालसामान आफ्नो भूमिमा ल्याउन दिन्थ्यो । यसरी चलेको कोरला नाकामा त्यसबेला मुस्ताङ भन्सार कार्यालयको वार्षिक राजस्ववापत रु १० देखि १५ करोड मात्रै मुश्किल उठाउथ्यो ।

मुख्य नाकाका रुपमा विस्तार हुँदै

सामान्य अवस्थामा चलेको कोरला नाकाको ढोका गत वर्षको भदौ ३१ गतेपछि भने केही गतिशील बनेको छ । गत वर्षको असार र भदौ महिनामा बाढी, पहिरो र नदी कटानका कारण उत्तरतर्फका नाका जोड्ने तातोपानी र रसुवागढी नाका पूर्ण रुपमा बन्द हुन पुगेपछि कोरला नाकालाई वैकल्पिक आयात निर्यातको मार्ग प्रस्तुत गरियो । कोरला नाकालाई पूर्ण रुपमा सञ्चालन गर्ने निर्णयसँगै मुस्ताङ भन्सार कार्यालयमा कर्मचारी थपिए । निकासी तथा पैठारीको परिमाण वृद्धि हुन थाल्यो । नाका पूर्ण रुपमा सञ्चालन गरिए पनि पूर्वाधार निर्माणमा भने ध्यान दिइएको थिएन ।

विसं २०८२ भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नाकामा पहिलेभन्दा राजस्व सङ्कलनमा निकै ठूलो कायापलट हुन थाल्यो । सीमावर्ती क्षेत्रका नागरिकले पनि वैकल्पिक रोजागारी अवसर प्राप्त गर्न थाले । कोरला नाका र त्यहाँ रहेको मुस्ताङ भन्सार कार्यालय यतिबेला भने निकै चलायमान र गुल्जार बनेको छ । यसको कारण हो, रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द हुनु ।

यही भदौ १० गते बिहान रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा बन्द बन्न पुगेको छ । उक्त नाका पहिलेका अवस्थामा फर्किन सायद लामो समय कुर्नुपर्ने हुनसक्छ । तातोपानी नाका पनि अहिले खुल्न सकेको छैन । यस्तो अवस्थामा उत्तरतर्फका तीन नाकाको प्रतिनिधित्व गर्ने एकमात्र नाका कोरला बनिरहेको छ ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवाको विनाशकारी बाढीपछि केरुङ नाकामा रोकिएका १७६ वटा मालवस्तुका कन्टेनर कोरला नाकातर्फ ‘डाइभर्ट’ भइरहेको बताउनुभयो । केरुङ नाकाबाट डाइभर्ट भइरहेका सबै कन्टेनर बुधबारसम्म कोरला नाकामा आइपुग्ने जानकारी प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो ।

“केरुङ नाकाबाट कोरला नाकातर्फ ‘डाइभर्ट’ भएका कन्टेनरमध्ये केही सोमबार केही आइपुगे भने बाँकी कन्टेनर पनि भोलि बुधबारभित्र कोरला नाकामा आइपुग्ने छन्”, प्रमुख चुडालले भन्नुभयो, “मुस्ताङ भन्सारको सडक मार्ग छेउछाउ करिब २०० भन्दाबढी कन्टेनर छन्, भन्सार ¥याडमा ‘लोड’ गरिएका मालवस्तुसहित कन्टेनर करिब १५० बढी रोकिएका छन् ।” दसँै , तिहारलगायत चाडपर्व नजिकिएकाले केरुङबाट ‘डाइभर्ट’ भएका मालवस्तुको पैठारी हुने समय चलेको भन्सार प्रमुख चुडालको भनाइ छ । चीनबाट तयारी लत्ताकपडा, शृङ्गारका सामग्री, औद्योगिक कच्चा पदार्थ, फलपूmल र खाद्य पदार्थ रहेको कन्टेनर कोरला नाकातर्फ ‘डाइभर्ट’ भएको उहाँले बताउनुभयो ।

लक्षित राजस्व बढ्ने निश्चित

रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द भएसँगै नेपाल–चीन उत्तरी कोरला नाका हुँदै मालवस्तु ढुवानी गर्न दैनिक ५० भन्दाबढी कन्टेनर चीनको भूमि लिजीमा प्रवेश गर्ने गरेका भन्सार प्रमुख चुडालले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार रसुवागढी नाका बन्द हुनुअघि ४० दिनमा कोरला नाकाबाट भित्रिएका मालवस्तुको पैठारीवापत रु ५२ करोड ८० लाख राजस्व सङ्कलन भएको थियो भने भदौ १० गतेपछि मुस्ताङ भन्सार कार्यालयबाट थप २६ करोड बढी सङ्कलन भएको छ । चालु आव २०८३÷८४ को साउनदेखि भदौ २० गतेसम्म मुस्ताङ भन्सारबाट कुल ७८ करोड बढी राजस्व सङ्कलन भइसकेको भन्सारको तथ्याङ्कमा उल्ल्ेख छ ।

रसुवागढी नाका बन्द भएपछि नौ दिनको फेरोमा कोरला नाका हुँदै नेपाल भित्रिएका ८८ वटा मालवस्तु रहेका कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ ।

यसअघि चालु वर्षको साउनदेखि भदौ १० गतेअघिसम्म कोरला नाकाबाट भित्रिएका १६३ विद्युतीय सवारी र १३३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको भन्सार प्रमुख चुडालले बताउनुभयो ।

चालु वर्षको साउनदेखि भदौ १० गतेअघिको तथ्याङ्क हेर्दा मुस्ताङ भन्सारमा दैनिक चार÷पाँच वटा विद्युतीय सवारी र दैनिक तीन÷चारको हाराहारीमा कन्टेनरको मात्रै जाँचपास भएको देखिन्छ तर भदौ १० गतेपछि दैनिक औसत १५ भन्दा बढी विद्युतीय सवारी र दैनिक औसत १० भन्दाबढी कन्टेनरको भन्सार जाँचपास भएको देखिन्छ ।

भन्सार प्रमुख चुडालका अनुसार अघिल्लो ४० दिनमा १६३ वटा इभी गाडी जाँचपास भएकामा पछिल्लो १० दिनमा १३० वटा इभी गाडी जाँचपास भएको हो । यसैगरी अघिल्लो ४० दिनमा १३३ वटा कन्टेनरको जाँचपास भएकामा पछिल्लो १० दिनमा ८८ वटा कन्टेनरको जाँचपास भएको भन्सार प्रमुख चुडालको भनाइ छ ।

भन्सार प्रमुख चुडालले राससलाई दिएको जानकारीअनुसार भदौ १० अघिको अघिल्लो ४० दिनमा सङ्कलन भएको राजस्व अनुपातमा दैनिक रु एक करोड ३० लाख सङ्कलन भएको देखिन्छ । यसैगरी भदौ १० पछिको भन्सार राजश्वको दैनिक अनुपात रु दुई करोड ८८ लाख बढी देखिन्छ ।

नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले गत आव २०८२÷८३ मा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो । भन्सार प्रमुख चुडालका अनुसार गत वर्ष पैठारीतर्फ रु १४ अर्ब ४० करोड बढीको मालवस्तु पैठारी भएको थियो भने रु २० करोड ५० लाख बढीको मालवस्तु चीनतर्फ निकासी भएको थियो ।

गत वर्ष कोरला नाका हुँदै चीनबाट भित्रिएका तीन हजार २२३ वटा विद्युतीय गाडी र एक हजार ८७३ वटा मालवस्तु पैठारी गरिएका कन्टेनरको भन्सार जाँचपास भएको थियो ।

भन्सार प्रमुख चुडालका अनुसार गतवर्ष रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन भएकामा चालु वर्ष सामान्य अवस्था रहेमा रु नौ अर्ब बढी भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रसुवा घटनाले उक्त लक्ष्यभन्दा बढी उठ्ने देखिएको छ ।

चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय गाडी भन्सार जाँचपास गर्नका लागि कोरला नाकामै पार्किङ गरिएका प्रमुख चुडालले बताउनुभयो । पछिल्लो समय मुस्ताङको कोरला नाकादेखि न्हेचुङ भन्सारका आसपासका क्षेत्रमा कन्टेनर र विद्युतीय सवारीको सङ्ख्याले ढाकिएका छ ।

विगतमा उपल्लो मुस्ताङका नागरिकलाई मात्रै केन्द्रित गरी सञ्चालन भएको कोरला नाका गत वर्षको भदौदेखि सामान्य अवस्थामा निकासी तथा पैठारी हुँदै आएको थियो । रसुवा र तातोपानी नाका बन्द भएपछि कोरला नाका मुख्य मार्गका रुपमा चलायमान बनेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206