१५ भाद्र २०८३, सोमबार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

Logo
Pulse Khabar सोमबार, भाद्र १५, २०८३

तुलसीपुर:दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो ।

आँखा टट्टाइसकेको छ । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ ।उहाँ अहिले ८० वर्ष पुग्नुभयो । तर, अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन । विसं २०५८ पुसदेखि सम्पर्कविहीन भएका उहाँका छोरा ओवीराम डाँगीको अहिलेसम्म कुनै खबर नआए पनि उहाँले आशा भने मार्नुभएको छैन ।“ढोका ढकढक गर्दा पनि छोरो आयो कि जस्तो लाग्छ, मुसा कराउँदा पनि छोराकै याद आउँछ”, उहाँले भन्नुभयो, “मेरो कपाल फुलेर सेताम्मे भइसक्यो तर अहिलेसम्म केही पत्तो लागेको छैन ।”बुढेसकालको सहारा होला भनेर छोरालाई इन्जिनियर पढाएको डाँगीले सुनाउनुभयो । तर, बुढेसकालमा झन् एक्लिएर बस्नुपर्दा उहाँलाई दुःख लागेको छ । “बुढेसकालमा छोराको कमाइ खाउँला, सुखले बसौँला भनेको थिएँ”, उहाँले भन्नुभयो, “तर अहिले उसकै सम्झनामा बस्नुबाहेक केही भएन ।”छोरा हराएको २७ वर्ष बितिसक्दा पनि कुनै पत्तो नलागेको भन्दै उहाँले राज्यसँग पनि असन्तुष्टि पोख्नुभयो । “कुनै दिन छोरो घर फर्किएला भन्ने आशा अझै मरेको छैन”, उहाँले भन्नुभयो ।यस्तै, तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारीकी निर्मला चौधरीको पीडा पनि उस्तै छ ।

उहाँका एक्ला छोरा विनोद चौधरी २०६० कात्तिक २ गतेदेखि सम्पर्कविहीन हुनुहुन्छ । “एक्लो छोरा हो, घर आउँलाआउँला भन्दाभन्दै २५ वर्ष भइसक्यो”, उहाँले भन्नुभयो, “अझै पनि आशा मरेको छैन ।” प्रतीक्षामा धेरै वर्ष बिते । निर्मला भन्नुहुन्छ, “आमा हुँ, कसरी भुल्न सक्छु र ?”दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी पनि २०५९ सालदेखि बेपत्ता हुनुहुन्छ । तुलसीपुरमा मल लिन भनी आएका चौधरी बेपत्ता भए पनि परिवारको आशा अझै मरेको छैन । “अझै पनि आउनुहुन्छ कि भन्ने लाग्छ”, उहाँका भाइ सीताराम चौधरीले भन्नुभयो ।यी त केही उदाहरणमात्रै हुन् । अझै पनि धेरै आमाहरूले वर्षौँदेखि यही पीडा भोगिरहेका छन् । द्वन्द्वका समयमा बेपत्ता भएका नागरिकको परिवार झिनो आशामा पीडादायी दिनहरू बिताइरहेका छन् । लामो समयसम्म बेपत्ता भएका आफन्तका परिवारले न्याय पाउन नसकेको र झन् पीडामाथि पीडा थपिएको सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल लुम्बिनीका संयोजक सीता चौधरीले बताउनुभयो ।

“कि सास चाहियो, कि लास चाहियो भनेर आवाज उठाउँदै आए पनि त्यसले सार्थकता पाउन सकेको छैन”, उहाँले भन्नुभयो, “हामीले न्यायका लागि धेरै आवाज उठायौँ तर हाम्रा पीडा ज्यूँकात्यूँ छन्, हाम्रो सुनुवाइ कतैबाट भएको छैन ।”सरकारले अझै पनि बेपत्ता व्यक्तिको अवस्था के छ भन्ने कुरा पत्ता लगाउन नसक्दा पीडितपरिवारमा झन् पीडा थपिएको उहाँको भनाइ छ । पटकपटक बेपत्ता नागरिक खोजीका लागि सामान्य कार्यक्रम भए पनि वास्तविक अवस्था भने पत्ता लाग्न नसकेको भन्दै उहाँले दुःखेसो पोख्नुभयो ।सोह्रौँ अन्तरराष्ट्रिय बेपत्ता दिवसका अवसरमा शनिबार दाङको तुलसीपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागीले आ–आफ्ना दुःख र पीडा सुनाउनुभयो । हरेक वर्ष एक दिन बेपत्ता नागरिकको बारेमा छलफल हुने भए पनि हालसम्म अवस्था पत्ता नलाग्दा पीडा जहाँको तहीँ रहेको उहाँहरूको भनाइ छ ।राज्यले तत्काल बेपत्ता नागरिकका बारेमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उहाँहरूको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206