काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस सङ्कटलाई परास्त गर्न सफल हुनेमा आशा व्यक्त गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट सृजित सङ्कट समाधानमा नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको उल्लेख गर्नुभएको छ । प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पु¥याउने र पुनःनिर्माण तथा पुनःस्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “विगत पाँच दिनदेखि हाम्रो देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको छ । रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीले पुर्याएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै चुनौतीपूर्ण बनिरहेको छ । प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण यो काम चुनौतीपूर्ण भए पनि हामी दृढताका साथ नागरिकको जीवनरक्षाका लागि अघि बढिरहेका छौँ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ, “आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडाभन्दा ठूलो अन्य केही हुन सक्दैन । आफ्ना नागरिकहरू सङ्कटमा परेको यस दुःखी घडीमा नेपाल सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ । हामी कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेका छौँ । नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौँ ।
”प्रधानमन्त्री शाहले बाढी गए लगत्तै सरकारले प्रभावित क्षेत्रबाट पीडित नागरिकको उद्धारलाई तीव्र पारेको थियो । प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिबीच पनि प्रभावित क्षेत्रबाट केहीबेर अघिसम्म नौ हजार ४३५ जनालाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको बताउनुभएको छ ।साथै राहत तथा उद्धार कार्यका लागि आज मात्रै थप ७२ सहित ३९४ उडान भरिसकेको अवस्था छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी खटिनुभएको छ । उद्धारमा अन्य स्वयंसेवक साथीहरु व्यापक रुपमा निरन्तर लागिरहेको प्रधानमन्त्री शाहको भनाइ छ । प्रभावित क्षेत्रका विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिसकिएको उहाँले बताउनुभयो । रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ । चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ, साथै चिनियाँ टोलीले सुरुङभित्र तीन किलोमिटरसम्म खोज गरिसकेको छ ।तर, अहिलेसम्म मानिस फेला पार्न नसकेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ । बाढीका कारण त्यहाँ रहनुभएका धेरै नागरिक घाइते हुनुभएको थियो । उहाँहरूलाई हामीले जतिसक्दो चाँडो उद्धार गरी उपचार गर्ने कोसिस गर्यौँ र त्यो क्रम जारी छ । प्रभावित क्षेत्रबाट २६७ घाइते मानिसलाई उद्धार गरी स्थानीयसँगै काठमाडौँका विभिन्न अस्पतालमा उपचार गरिरहेका छौँ ।
केहीबेर अघिसम्म अस्पतालबाट १५६ जना डिस्चार्ज भइसक्नुभएको छ भने अन्य घाइते नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउँदैछ । प्रभावित क्षेत्रमा उपचार, मनोपरामर्शका लागि काठमाडौँबाट विभिन्न चिकित्सकसहितको टोली खटिनुभएको र प्रभावित क्षेत्रमा अवरुद्ध भएका स्वास्थ्य संस्थाहरूको सेवा सुचारु गर्ने क्रम जारी रहेको प्रधानमन्त्री शाहको भनाइ छ । “नेपालले व्यहोरिरहेको यो विपद्मा देशभित्रै सहयोग गर्ने क्रम जारी छ । छिमेकी मुलुक भारत र चीनबाट उद्धारका सामग्रीसहित राहत सामग्री उपलब्ध भएको छ । नेपाल सरकारले प्रभावित क्षेत्रका विभिन्न सुरक्षित स्थानमा राहत पुर्याइसकेको छ ।काठमाडौँको त्रिभुवन विमानस्थलको वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सामाखुसीको नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा सङ्कलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याइएको छ । “मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रसुवाको धुञ्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्याइएको छ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ ।प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सुरु भइसकेको छ । आइतबार मात्रै नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाएको छ । नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ तथा एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो ।
जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडकहरू सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रलाई जोड्ने प्रयास भइरहेको छ । तर, गएराति भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो जाँदा वैकल्पिक सडकहरूमा असर परिरहेको छ । साथै, कृष्णभीर क्षेत्रमा कटान हुँदा सडकमा यातायात सेवा अवरुद्ध भएको छ । हाम्रा संयन्त्रहरूले यथाशीघ्र सडक पुनः सञ्चालनमा ल्याउन कोसिस गरिरहेको उहाँको भनाइ छ । साथै बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शवको व्यवस्थापन भइरहेको छ । पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानुन बमोजिम प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन सुरु भइसकेको छ । ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ । पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधार सुरक्षित राखी सरकारले आफैँ व्यवस्थापन गरिरहेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ ।
–––
