१० भाद्र २०८३, बुधबार

उत्तिसको गोलिया काठ बरामद

Logo
Pulse Khabar बुधबार, भाद्र १०, २०८३

खोटाङ: डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९(नौ) निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको काठ वन कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो । स्थानीयले दिएको सूचनाका आधारमा निरीक्षण गर्दा काष्ठ व्यवसायीले अनधिकृत रुपमा बिक्रीका लागि लैजान लागेको अवस्थामा फेला परेको डिभिजन प्रमुख राजन राईले जानकारी दिनुभयो । “काठ व्यवसायीले बिना अनुमति रुख कटान गराएर निकासी गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि बरामद गरेका छौँ”, उहाँले भन्नुभयो, “घटनाको विषयमा छानबिन गर्न समिति पनि बनाइएको छ । समितिको प्रतिवेदन आएपछि कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।” साप्सुखोलाको शिरतर्फका सार्वजनिक तथा सामुदायिक वनका रुख कटान गरेर ती काठ बगाउँदै ल्याइएको बताइन्छ । मध्यपहाडी लोकमार्गस्थित साप्सुखोलाको मोटरेबल पुलमा काठका मुडा जम्मा गरिएको पाइएको थियो । अवैध रुपमा गोलिया काठ निकासी भइरहेको घटना सार्वजनिक भएपछि डिभिजन वन कार्यालय खोटाङका कर्मचारी पुग्दा कतिपय मुडा खोलाबाट निकालेर हार लगाएर बगरमा राखिएको तथा कतिपय मुडा खोलामै छरपस्ट भेटिएका थिए । वन कार्यालयका कर्मचारीले सबै काठ वन कार्यालयमा ल्याएका छन् ।

बेवारिसे अवस्थामा भेटिएका गोलिया काठ केही निजी र केही सार्वजनिक जग्गाबाट अवैधानिक तरिकाले कटान गरिएको डिभिजन प्रमुख राईले जानकारी दिनुभयो । ‘वन ऐन २०७६’ अनुसार सार्वजनिक जग्गामा रहेको उत्तिसलगायत निकासीका लागि खुला गरेको विभिन्न २८ प्रजातिका रुख कटान गरेको प्रमाणित भएमा रु दश हजार जरिवाना र छ महिना कैद हुने कानुनी व्यवस्था छ । निजी जग्गामा भएका रुख कटानका लागि आदेश लिन नपरे पनि व्यावसायिक रुपमा निकासी गर्न सम्बन्धित क्षेत्रमा रहेको वन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो केही वर्षदेखि व्यापक रुपमा उत्तिस, मलातो, पात्ले, चिलाउनोलगायत विभिन्न प्रजातिका रुख कटान गरेर गोलिया काठ निकासी गर्ने काम भइरहेको छ ।सक्रिय काठ व्यवसायीले ग्रामीण भेगका जग्गाधनीबाट सस्तो मूल्यमा सिङ्गो रुख खरिद गरेर कटानगरी तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरेर राम्रो कमाई गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206