भद्रपुर: झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रमाणपत्र तहको नर्सिङ कलेज सञ्चालनको तयारी सुरु भएको छ ।
आवश्यक पूर्वाधार र जनशक्ति उपलब्ध रहेको भन्दै अस्पतालले आगामी शैक्षिक वर्षदेखि कक्षा सुरु गर्ने लक्ष्यसहित सम्बन्धनको प्रक्रिया अघि बढाएको हो ।अस्पतालका अनुसार नर्सिङ कलेज सञ्चालनका लागि पहल हुँदै आएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले २०८२ भदौ ५ गते कलेज सञ्चालनसम्बन्धी निर्णय गरेको थियो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले नर्सिङ कार्यक्रम सञ्चालनका लागि सिफारिस गरिसकेको छ ।प्रस्तावित कलेजका लागि अस्पतालको पुरानो भवन प्रयोग गर्ने तयारी छ । नयाँ भवनबाट अस्पतालको सेवा सञ्चालन हुन थालेपछि खाली रहेको पुरानो भवनमा १४ वटा कोठा, चारवटा प्रयोगशाला र पुस्तकालय रहेका छन् । होस्टल निर्माणको योजना रहेको अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत सुजता पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा १२४ भन्दा बढी शय्या र ९०(नब्बे) नर्सिङ जनशक्ति रहेकामा प्रस्तावित कलेजका लागि १३ जना नर्सिङ जनशक्ति छुट्याइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले तोकेको कोटाअनुसार विद्यार्थी भर्ना गर्ने अस्पतालको योजना छ ।
“सरकारी अस्पतालमै नर्सिङ शिक्षा सञ्चालन हुँदा पूर्वी नेपालका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्छ । अहिले चर्को शुल्क तिरेर निजी संस्थामा अध्ययन गर्नुपर्ने बाध्यता रहेकाले सरकारीस्तरबाट कार्यक्रम सञ्चालन हुँदा धेरै सहज हुन्छ,” पौडेलले भन्नुभयो, “यसले आवश्यक नर्सिङ जनशक्ति उत्पादन गर्न र जनशक्ति पलायन रोक्न पनि सहयोग पु¥याउन सक्छ ।”कलेज सञ्चालनका लागि सिटिइभिटीको प्रक्रिया अघि बढाउने क्रममा गत साउन २१ गते अस्पतालको प्रतिनिधिमण्डलले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग भेट गरेको थियो । प्रतिनिधिमण्डलमा यस क्षेत्रका सङ्घीय सांसद प्रकाश पाठकसहित अस्पतालका प्रतिनिधि सहभागी थिए । टोलीले परिषद्ले तोकेको शुल्क लिएर पूर्वाधार तयारीको अनुमति प्रदान गरी स्थलगत निरीक्षण गरिदिन आग्रह गरेको थियो । मन्त्रीसँगको भेटमा सिटिइभिटीको उपाध्यक्ष पद रिक्त रहेकाले नियुक्तिपछि बोर्ड बैठकबाट प्रस्ताव अघि बढाउने विषयमा छलफल भएको नर्सिङ अधिकृत पौडेलले बताउनुभयो ।
“शिक्षामन्त्रीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ । सिटिइभिटीको उपाध्यक्ष नियुक्त भएपछि बोर्ड बैठकबाट प्रस्ताव पारित गरेर आवश्यक प्रक्रिया पूरा गर्दै मन्त्रिपरिषद्बाट निर्णय गराउने आश्वासन पाएका छौँ,” उहाँले भन्नुभयो ।प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले पनि भद्रपुर प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनका लागि शिक्षा तथा खेलकुदमन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग छलफल गरी पहल गरिरहनुभएको छ । उहाँले आवश्यक सरकारी निर्णयका लागि सहजीकरण गर्ने बताउनुभएको छ ।अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताले नयाँ भवनबाट सेवा सञ्चालन भएपछि खाली रहेको पुरानो भवनलाई नर्सिङ कलेजका लागि उपयोग गर्न सकिने बताउनुभयो । “नर्सिङ कलेज सञ्चालनका लागि आवश्यक कक्षाकोठालगायत संरचना पुरानो भवनबाटै व्यवस्थापन गर्न सकिन्छ,” गुप्ताले भन्नुभयो, “अस्पतालमा भौतिक पूर्वाधार र आवश्यक जनशक्ति रहेकाले कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास छ ।”प्रक्रिया पूरा भए आगामी शैक्षिक वर्षदेखि भद्रपुर प्रादेशिक अस्पतालमै प्रमाणपत्र तहको नर्सिङ अध्ययन सुरु हुने अस्पतालको अपेक्षा छ ।
