कप्तानगञ्ज: शहिद रवीन्द्र मेहताप्रति सम्मान व्यक्त गर्दै उहाँको परिवारलाई आर्थिक सहयोग स्वरूप रु. १ लाख हस्तान्तरण गरिएको छ। विश्व हिन्दू परिषद् नेपाल, कोशी प्रदेशको पहल तथा विभिन्न जिल्ला र स्थानीय तहका पदाधिकारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममार्फत उक्त सहयोग रकम शहीद रवीन्द्र मेहताको घरपरिवारलाई हस्तान्तरण गरिएको हो।
कप्तानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचलाल मेहताको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा विश्व हिन्दू परिषद् नेपाल, कोशी प्रदेशका अध्यक्ष देवेन्द्र गुप्ता, कोशी प्रदेश संगठन सचिव नितेश कुमार लगायत मोरङ र सुनसरी जिल्लाका पदाधिकारी तथा विभिन्न तहका जिम्मेवार व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा शहीद रवीन्द्र मेहताको परिवारप्रति समवेदना, सम्मान र ऐक्यबद्धता व्यक्त गर्दै आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो। उपस्थित अतिथिहरू तथा पदाधिकारीहरूले शहीदको योगदानलाई राष्ट्र र समाजले सधैं सम्झिरहने बताउँदै शहीद परिवारप्रति सबै पक्षको साथ, सहयोग र सम्मान निरन्तर रहनुपर्ने धारणा व्यक्त गरेका थिए।
सहयोग रकम हस्तान्तरणपछि उपस्थित टोलीले शहीद रवीन्द्र मेहताको सहादत स्थलमा पुगेर फूल अर्पण गर्दै श्रद्धाञ्जली तथा स्मरण गरेको थियो। शहीदको बलिदानलाई स्मरण गर्दै उपस्थित सबैले उहाँप्रति उच्च सम्मान प्रकट गरेका थिए।
कार्यक्रममा सहभागीहरूले शहीदहरूको त्याग, बलिदान र योगदानलाई जीवन्त राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै शहीद परिवारलाई आवश्यक पर्दा सहयोग गर्न सधैं तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए। बिगतमा पनि विश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेशले सहिद ओमप्रकास मेहता र जयप्रकास मेहता तथा घाइतेहरुलाई आर्थिक सहयोग गरेको थियो ।
श्रद्धाञ्जली कार्यक्रमको क्रममा उपस्थित सहभागीहरूले उत्साहका साथ “अमर शहीद जिन्दाबाद!” भन्ने नारा लगाएका थिए। शहीद रवीन्द्र मेहताको योगदान र बलिदानप्रति सम्मान व्यक्त गर्दै तथा उहाँको परिवारप्रति सहयोग र ऐक्यबद्धताको सन्देश प्रवाह गर्दै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक पक्षले जनाएको छ।
