०८ भाद्र २०८३, सोमबार

भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

Logo
Pulse Khabar सोमबार, भाद्र ०८, २०८३

चितवन:यहाँको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री बनाउने गरी काम अघि बढाइएको छ ।

बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक, कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम पनि गर्न सुरु गरेको छ ।बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मीठो बोल्न र राम्रो व्यवहार गर्न भनिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सबै विभागहरुमा व्यवहारलाई राम्रो गराउन अभिमुखीकरण गर्न थालिएको छ । तीन त्यस्ता कार्यक्रम गरी सकिएको छ । उहाँले भन्नुभयो, “यहाँ आउने सेवाग्राहीलाई हामी सबैले राम्रो व्यवहार गरेर उपचार दिनुपर्छ भन्ने भावनाको विकास गरिरहेका छौँ ।” कतिपय समयमा काम गर्ने क्रममा हुने व्यवहारका कारण समस्या आउने गरेको छ । यसैका कारण अस्पतालमा आउने सेवाग्राही र अस्पतालका चिकित्सक कर्मचारी बीचमा द्वन्द्व हुने गरेको छ ।अस्पताल प्रमुख डा बगालेका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामी तथा आफन्तले भोग्ने व्यवहार र अस्पतालको वातावरणले उपचार सेवाप्रतिका विश्वासमा समेत प्रभाव पार्दछ । उहाँले भन्नुभयो “चिकित्सक, नर्स तथा अन्य कर्मचारीलाई सेवाग्राहीसँग सम्मानजनक, सहयोगी र शिष्ट व्यवहार गर्न निर्देशन दिइएको छ । यसलाई नै प्राथमिकता दिँदै अभिमुखीकरण गरिएको हो ।

”अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममा प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा ‘हस्पिटल ब्युटिफिकेसन कमिटी’ बनाएको छ । उहाँले यसले अस्पताललाई हरियाली, सफासँगै सेवाग्राही मैत्री बनाउन काम गर्ने बताउनुभयो । वातावरणीय रुपमा सरसफाइसँगै हरियाली बनाउन, सेवाग्राहीसँग राम्रो व्यवहार गर्न, सहज रुपमा सेवा प्रवाह गर्न, पूर्वाधारलाई सुन्दर बनाउने जस्ता काम कमिटीले गरिरहेको छ ।अस्पताल प्रमुख डा बगालेका अनुसार चिकित्सक स्वास्थ्यकर्मीलाई राम्रो व्यवहारका लागि अभिमुखीकरण, कम्तीमा १५ दिनमा एक पटक अभियानका रुपमा पूर्ण सरसफाइ र शौचालयहरुमा सरसफाइको रेकर्ड बोर्डमा राख्ने जस्ता काम अस्पतालले थालेको छ । उहाँले उपचार मात्र नभएर यससँगसँगै रहेका धेरै काम जसले सेवाग्राहीलाई प्रभाव पार्न सक्छ त्यससम्बन्धी काममा ध्यान पु¥याइएको बताउनुभयो । समितिका संयोजक पौडेलका अनुसार अहिले १५ दिनको एक पटक बृहत् रुपमा सरसफाइ गरिँदै आइएको छ । अस्पताल परिसरमा एउटा बाल उद्यानसहित ६ साना उद्यानहरु छन् । दुबो लगाइएका ती उद्यानहरुमा हरियाली हुने बिरुवाहरु छन् । तिनीहरुको सरसफाइ, गोडमेल, छाँटकाँट जस्ता काम गरिँदै आइएको छ ।यसका अतिरिक्त अस्पताल परिसरमा बिरुवाहरु लगाउने, छाँटकाँट, गोडमेल, भौतिक पूर्वाधारहरुमा रङ्गरोगन जस्ता कामहरु भइरहेका छन् ।

यससँगै बिरामी र आफन्तहरु कुन भवनमा जाने हो त्यहाँ पुग्नका लागि सहज बनाउने काम भइरहेको छ । रङ्गहरुमार्फत सहजै जान चाहेको ठाउँमा पुग्ने गरी अस्पतालले व्यवस्थापन गर्दैछ । समितिका संयोजक पौडेलका अनुसार अस्पतालका कर्मचारीहरुबाट सेवाग्राहीसँगको व्यवहारमा सुन्दरता ल्याउने गरी काम भइरहेको छ । बिरामी र आफन्तहरुलाई अस्पतालभित्रका सूचना सहज बनाउने काम पनि गरिएको छ । शौचालयसहित अन्य ठाउँहरुमा सरसफाइको नियमित अनुगमनको काम पनि थालिएको छ । उहाँले भन्नुभयो, “कम खर्चमा फरकपना दिलाउने गरी हामी काममा लागेका छौँ ।” अस्पताल प्रशासनले अगाडि रहेको पुरानो भवन भत्काएर त्यहाँ पानीका फोहोरा, ढुङ्गेधार, बगैँचा बनाउने तयारी गरेको छ । कोही अस्पताल आउँदा जति नै तनाव लिएर आए पनि यहाँ छिरिसकेपछि वातावरणीय रुपमा शान्त बनाउने गरी काम गरिरहेका छौँ ।”बिरामीको उपचारसँगै उनीहरूले पाउने सम्मान, स्वच्छ वातावरण र सहज सेवा पनि अस्पतालको गुणस्तरको महत्वपूर्ण पक्ष भएकाले भरतपुर अस्पतालले सुरु गरेको यो अभियानले सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यस अस्पतालमा विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । एकै दिनमा तीन हजार ८०० जनासम्म बहिरङ्ग सेवामा बिरामीले अस्पतालबाट सेवा लिएको तथ्याङ्क छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206