०४ भाद्र २०८३, बिहिबार

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

Logo
Pulse Khabar बिहिबार, भाद्र ०४, २०८३

पाँचथर: रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका छन् ।

सङ्क्रमण फैलन नदिन खोप कार्यक्रम निरन्तर सञ्चालन गरिएपछि स्थिति नियन्त्रणउन्मुख भएको छ ।पाँचथरमा फिदिम नगरपालिकासहित फाल्गुनन्द, कुम्मायक, हिलिहाङ र याङवरक गाउँपालिकामा रेबिज रोगको सङ्क्रमण फैलिएको थियो । रेबिज रोग सङ्क्रमित सामुदायिक कुकुरको टोकाइबाट गाई, भैँसी, बाख्रालगायत घरपालुवा जनावर र सामुदायिक तथा घरपालुवा कुकुरमा सङ्क्रमण फैलिएको हो । जसकारण हालसम्म सानाठूला गरी ३६ वटा पशु चौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाँचथरका निमित्त प्रमुख निरजकुमार भट्टराईले जानकारी दिनुभयो ।पाँचथरमा सबैभन्दा बढी फाल्गुनन्द गाउँपालिकामा रेबिज रोगको सङ्क्रमण फैलिएको थियो । एकै सङ्क्रमित कुकुरले दर्जनौँ पशु चौपायालाई टोकेपछि स्थिति भयावह बनेको थियो । जसकारण फाल्गुनन्द गाउँपालिकामा मात्रै छ गाईगोरु, सात भैँसी, पाँच बाख्रा र आठ कुकुर रेबिज सङ्क्रमणका कारण मरेको फाल्गुनन्द गाउँपालिका पशुपक्षी विकास शाखाका प्रमुख डा निरज चौधरीले जानकारी दिनुभयो । उक्त गाउँपालिकाका–६ र ७ मा सङ्क्रमण अत्यधिक फैलिएको थियो । यस क्रममा पाँच जना मानिसलाई पनि सङ्क्रमित कुकुरले टोकेपछि उपचार भइरहेको छ ।

रेबिज रोगको सङ्क्रमणबाट फाल्गुनन्दका अतिरिक्त हिलिहाङ गाउँपालिकामा पाँच वटा, कुम्मायकमा एउटा, याङवरकमा तीन वटा र फिदिम नगरपालिकामा एउटा पशुचौपाया मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाँचथरले जनाएको छ । सङ्क्रमण फैलिएपछि कुकुर तथा अन्य पशुचौपायामा रेबिज रोगविरुद्धको खोप लगाउने कार्यक्रम छ ।फिदिममा हालसम्म पनि सामुदायिक तथा घरपालुवा कुकुरलाई खोप लगाउने कार्यक्रम चलिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाँचथरका निमित्त प्रमुख भट्टराईले जानकारी दिनुभयो । फिदिम र फाल्गुनन्द बाहेकका स्थान जोखिममुक्त भएको पनि उहाँको भनाइ छ ।फाल्गुनन्द गाउँपालिकाका पशु प्राविधिक गोपाल घिमिरेको अनुसार रेबिज रोगको सङ्क्रमण फैलिएपछि नौ महिनासम्म पनि प्रभाव देखिएका कारण अझैसम्म सङ्क्रमणको जोखिम कायमै छ । “गत वर्षको साउनमा फाल्गुनन्द–२ मा रेबिजको लक्षण देखिएपछि जाँच गर्दा पोजेटिभ देखियो ।त्यसैको प्रभावले होला गत वैशाखसम्म गाईवस्तु मरिरहे,” घिमिरेले भन्नुभयो, “सो अवधिमा पाँच वटा गाईवस्तु मरे ।

”यस वर्ष गत असार २३ गते वडा नं ६ मा एउटा सङ्क्रमित कुकुरले एकै दिन २२ पशु चौपाया र चार जनालाई टोकेको थियो । जसमध्ये पाँच वटा पशुचौपाया मरेको घिमिरेले जानकारी दिनुभयो । सङ्क्रमित पशुले शरीरका अङ्गमा टोके पनि रेबिजको सङ्क्रमण मस्तिष्कसम्म पुग्न समय लाग्ने हुँदा लामो समयपछि पनि लक्षण देखिने घिमिरेको भनाइ छ ।फाल्गुनन्द गाउँपालिकामा रेबिज सङ्क्रमणको स्थिति भयावह बनेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाँचथर र ताप्लेजुङको टोली, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको टोली र पशु सेवा विभागको केन्द्रीय प्रयोगशालाको टोलीले समेत अध्ययन र अनुगमन गरेको थियो । यसपछि खोप कार्यक्रम व्यापक बनाइएको थियो । हाल फाल्गुनन्दमा समेत सङ्क्रमण फैलनबाट रोकिएको तथा पशुचौपायामा लक्षण देखिने क्रम जारी रहेको पशु प्राविधिक घिमिरेको भनाइ छ । यसैगरी, फाल्गुनन्द गाउँपालिकामा खोप कार्यक्रम विस्तार गर्न पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले एक थान आइएलआर रेफ्रिजेनेरेटर उपलब्ध गराएको छ । यसले खोप भण्डारण गर्न मद्दत पुग्ने फाल्गुनन्द गाउँपालिका पशुपक्षी विकास शाखाका प्रमुख डा चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206