०४ भाद्र २०८३, बिहिबार

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली

Logo
Pulse Khabar बिहिबार, भाद्र ०४, २०८३

म्याग्दी: म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको ‘स्मार्ट’ सूचना प्रणाली तयार भएको छ ।

जिल्ला प्रहरी कार्यालयले ‘क्युआर कोड’को सहायतामा नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ‘मौरिस हर्जोग’ पदमार्गको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने सूचना प्रणाली तयार पारेको हो । बेनीदेखि आधार शिविरसम्मका होटल तथा रेष्टुरेष्ट, आश्रयस्थल, सवारी चालकको सम्पर्क नम्बर, एकदेखि अर्को गन्तव्यसम्म पुग्न लाग्ने समय, उचाइ, समस्या परेमा सम्पर्क गर्ने निकायको फोन नम्बरसहितका विवरण मोबाइलबाटै हेर्न सकिने व्यवस्था मिलाएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । “आधार शिविर भ्रमणमा जानुअघि पूर्वसूचना प्राप्त गर्न व्यक्तिलाई फोन गरिरहन नपरोस् र यात्राका क्रममा अप्ठ्यारो परेमा सहयोग लिनका लागि पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले कार्यालयकै जनशक्तिको सीप, अनुभव र दक्षताको प्रयोग गरी स्मार्ट सूचना प्रणालीको विकास गरेका हौँ,” उहाँले भन्नुभयो, “स्मार्ट सूचना प्रणालीलाई अपटेड, परिमार्जन गर्दै निरन्तरता दिनेछौ ।” प्रहरी निरीक्षक सागर तिमिल्सिनाले फोनमार्फत अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गका बारेमा जानकारी माग्नेहरु धेरै भएकाले कसैलाई फोन नगरी सहजै सूचना पाउने प्रणाली तयार पारिएको बताउनुभयो । बसपार्क, होटल, प्रहरी चौकी, सार्वजनिकस्थलमा आम नागरिकको सहज पहुँच हुने गरि ‘क्युआर कोड’ टाँस्ने र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिने उहाँको भनाइ छ ।

समुन्द्री सतहदेखि चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग विसं २०७७ देखि सञ्चालनमा आएको थियो ।अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविरमुनि समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ । आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकै पटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206