०२ भाद्र २०८३, मंगलबार

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

Logo
Pulse Khabar मंगलबार, भाद्र ०२, २०८३

गोरखा: उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण बनेको छ ।

गोरखा भूकम्पपछि पहाड खोपेर निर्माण गरिएको उक्त पुल यस वर्षको वर्षायाममा माथिबाट ढुङ्गा खसेपछि क्षतिग्रस्त भएको हो ।पुल जीर्ण भएपछि चुमनुब्री–६ र वडा नं ७ का बासिन्दालाई आवतजावतमा जोखिम भएको छ । केही दिनअघि पहाडबाट खसेको ठूलो ढुङ्गाले पुलमा क्षति पु¥याएको चुमनुब्री–६ लोक्पाका सेराप गुरुङले जानकारी दिनुभयो । चुमनुब्री–६ का कार्यवाहक वडाध्यक्ष ठिले ग्याजो लामाले पुलको छेउका केही जिप भत्किएको र पुललाई आड दिएका ढुङ्गासमेत खसेको बताउनुभयो । उहाँका अनुसार केही दिनअघि पुलको डेक, छेकबार तथा रेलिङमा प्रयोग गरिएको तारजालीमा क्षति पुगेको छ ।“पहिले पनि बेलाबेलामा ढुङ्गा खस्ने समस्या हुँदै आएको थियो । अब पर्यटक आउने र चाडपर्वको समय सुरु हुन लागेकाले पुल जतिसक्दो छिटो मर्मत गर्नुपर्छ”, उहाँले भन्नुभयो ।सदरमुकामबाट टाढा रहेको चुमनुब्री–६ को लोक्पामा निर्माण गरिएको क्यान्टिलिभर पुल वडा नं ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका बस्तीमा पुग्ने प्रमुख माध्यम हो । समयमै पुल मर्मत नगरे स्थानीयवासीलाई थप समस्या हुने चुम्लिङका गोपाल लामाले बताउनुभयो ।“पुल नहुने हो भने गाउँपालिकाको केन्द्र फिलिम पुग्न हामीले अर्को बाटो घुमेर एक दिन थप यात्रा गर्नुपर्छ । बिरामी तथा घाइतेलाई झनै समस्या हुन्छ”, उहाँले भन्नुभयो ।

ढुङ्गा खसेपछि चुमनुब्री–७ छेकम्पारको चौँरीखर्क खण्डसमेत जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन् । छेकम्पार पुग्न चौँरीखर्कको भिर हुँदै जानुपर्ने र माथिबाट ढुङ्गा खसिरहँदा बाटोमा लगाइएको तारबारसमेत भत्किएको स्थानीय गोपाल लामाले बताउनुभयो ।हालै छेकम्पारसँग तिब्बत जोड्ने नाकासमेत खुलेको छ । नाका खुलेपछि स्थानीयले तिब्बततर्फ दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न जाने गरेका छन् । तर, ठाउँठाउँमा बाटो जोखिमपूर्ण बनेकाले आवतजावतमा समस्या भएको लोक्पाका सेराप लामाले बताउनुभयो ।उहाँले जोखिम मोलेर आवतजावत गर्नुपरेको बताउँदै सडक र पुल समयमै मर्मत नगरे पर्यटकीय मौसममा थप समस्या हुने उल्लेख गर्नुभयो ।क्यान्टिलिभर पुल मर्मतका लागि चुमनुब्री गाउँपालिकाले बजेट विनियोजन गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँसभाको निर्णयबाट पुल मर्मतका लागि रु १५ लाख विनियोजन गरिएको छ ।“पुलको अवस्था जोखिमपूर्ण छ । अहिले मानिस र खच्चड जोखिम मोलेर आवतजावत गरिरहेका छन्”, उहाँले भन्नुभयो, “अबको केही दिनभित्रै पुल मर्मतको काम सुरु हुन्छ ।”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206