

संविधानसभामार्फत संविधान जारी भएयता चौतर्फी हमलाको शिकार बनेको एमालेमाथि असार १४ गतेपछि आफूभित्रबाट नै नानाथरीका कुरा कथुर्न थालिएको छ । अध्यक्ष कमरेड केपी शर्मा ओलीविरुद्ध कित्ताबन्दी, नेतृत्वविरुद्ध घेराबन्दी, मानौँ हामी महाधिवेशनको मञ्चमा उभिएका छौँ- अर्को नेतृत्वको श्रृङ्गारपेटार, वादविवाद र प्रतिवाद आदि । यसक्रममा नेतृत्व स्वयं किन ओर्लिएको होला ! राम्रोसँग कुरा बुझेको छैन मैले चाहिँ ।
बुझेको के मात्र हो भने यसबीचमा नेतृत्व रिझाउन सक्नेले प्रशस्तै लाभ लिएका छन् । लाभबाट लालायित पंक्ति आफूलाई उम्दा सावित गर्न हतारो गर्दैछन् । टुंगोमा नपुग्दै हतारो गर्नु उपयुक्त हुँदैन । हतारोको उछिनपाछिन राम्रो होइन । यो अस्वस्थता किमार्थ राम्रो होइन, स्वीकार्य छैन ।
१) आदरणीय विद्यादेवी भण्डारी नेपाली राजनीतिमा निर्विघ्न अगुवा राजनीतिक व्यक्तित्व हुनुहुन्छ । एकजना राजनीतिक प्राणी हुनुको नाताले राष्ट्रपति कार्यकाल सकिएपछि राजनीतिमा फर्कने, त्यो पनि पुरानो घरमा फर्कने मन बनाउनुभयो । अरु कुनै पृष्ठभूमि भएका कारणले होइन, उहाँलाई राष्ट्रपति पनि राजनीतिक नेतृत्व भएकै कारण पार्टीले बनाएको थियोे । अध्यक्ष कमरेड केपी शर्मा ओलीले यसको नेतृत्व गर्नुभएको थियोे ।
२) अहिले उहाँको कार्यकाल शानदार ढंगले सकियो । उहाँको सम्मान र सम्मानजनक व्यवस्थापन कहाँ गर्ने ? कसरी गर्ने ? अहिले पनि पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली नै हुनुहुन्छ । यसबारे अध्यक्ष कमरेडलाई केही थाहा नहोला र ! उहाँको चासोको विषय पनि होइन होला र ! अध्यक्षको स्वीकार्यता बिना आजको एमालेमा केही होला र ?
३) एक ढंगले भन्नुपर्दा पूर्वराष्ट्रपति आफ्नो सक्रिय जीवनकालमा अर्थात् उमेरमै भूमिकाविहिन हुनुभयो । पूर्वराष्ट्रपतिका हैसियतले पाएको सेवा सुविधासमेत त्यागेर यो समाजमा यही समाजका लागि बाँचुञ्जेल केही गर्छु भन्नुभयो । के यो अनुचित थियोे र ?
४) एमाले पार्टीमा गैरएमाले आउने, भित्रने र हैसियत लिने गर्नुभएको कैयौं दृष्टान्त छ । उहाँ त जन्मजात एमाले । एमाले पनि राजनीतिक बैचारिक लिगेसी बोक्नुभएको एमाले । फेरि एमालेसँगको आफ्नो नातागोता खोज्नुलाई अस्वाभाविक लिनुपर्छ र ? अनुचित हो र ?
५) भूमिकाविहिनताकाे अवस्थामा राजनीतिमा फर्कने रहर गर्नुभएको उहाँलाई काउण्टर दिन कार्यकारी भूमिकामा रहनुभएको अरु कसैले आफ्नाबारेमा आमसञ्चार रंगीचंगी बनाउनुपर्छ र ? एमाले हायहाय भएपछि पछिल्ला दिनमा नवोदित पण्डाले धेरै डण्डा नचलाउने कि !
६) महाधिवेशनको मञ्चमा पुगेपछि महाधिवेशनको सार्वभौम र अधिकारसम्पन्न प्रतिनिधिले चाहेर उहाँले राजनीतिक नेतृत्व लिनुभयो, उपयुक्त जिम्मेवारी पाउनु भयो भने पनि यो हाम्रालागि थप एउटा सिकाइ योग्य गर्विलो पक्ष होइन र ? विद्यालयको प्रधानाध्यापक कक्षा शिक्षक हुन सक्नुहुन्न र ? माननीय भइखानुभएका केही व्यक्तित्वहरू पालिका प्रमुख हुनुभएको छैन र ?
७) जनताको बहुदलीय जनवाद काशीनाथ मन्दिर परिसरमा गाइने भजमन भजमन गोविन्द भनेझैं होइन । लय मिलाएर मात्र पुग्दैन । यो बिचारको प्रयोग र व्यवस्थापन हामीले आफ्नै व्यवहारमा गर्ने हो । यसको प्रयोगशाला हाम्रो दैनिकी हो । यहाँ कसैले कसैलाई निषेध नगरौँ !
— लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।