महेन्द्रनगर: जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा प्रतिस्पर्धाका लागि नेपालबाट प्रतिनिधित्व गर्ने चार खेलका खेलाडी भारत र चीनमा तयारी गरिरहेका छन् ।
बाइस वटा खेलमा १३६ जना खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा २०औँ एसियाडमा सहभागी हुँदैछन् । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंहले कुस्ती, कबड्डी (महिला तथा पुरुष) र बक्सिङको टिम भारत र उसुको थाउलो टोली चीनको कुन्मिङ पुगेको जानकारी दिनुभयो । उहाँले चार टोली बाहिर प्रशिक्षणमा रहदा बाँकी १८ खेलका खेलाडी भने स्वदेशमा आन्तरिक तयारी गरिरहेका बताउनुभयो ।एसियाड खेलकुदकै तयारीअन्र्तगत नेपालको कुस्ती टोली लिएर तयारीका लागि भारतको अयोध्यास्थित नन्दनीनगर पुग्नुभएका कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्रबहादुर चन्दले कुस्ती खेलाडीबाट नेपालले पदकको आशा गरेको बताउनुभयो ।पुरुष तथा महिला गरी छ जना कुस्ती खेलाडीसहित भारत पुगेका प्रशिक्षक चन्दले भारतमा खेलाडीले राम्रो तयारी गर्ने अवसर पाएका बताउनुभयो ।“दुई महिनाको अभ्यासका लागि हामी यहाँ आएका छौँ । खेलाडीले माथिल्लोस्तरका अन्य खेलाडीसँग अभ्यास गर्ने अवसर पाएका छन्”, उहाँले भन्नुभयो, “यसअघिको एसियाडमा सहभागी भइसकेका खेलाडीले प्रतिस्पर्धाको तयारी मेहनतका साथ गरिरहेका छन् । पदकको आशा गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
भारतको उत्तर प्रदेशस्थित मेरडमा नेपाली पुरुष कबड्डी टिम तयारीमा जुटेको छ । भने महिला कवड्डी टिम भारतकै हरिणामा प्रशिक्षणरत छ । पुरुष कबड्डी टिमका मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले दुवै टिमले भारतका विभिन्न कबड्डी टिमसँग अभ्यास खेल खेलिरहेको बताउनुभयो ।“पुरुष कबड्डीमा हाम्रो पोलमा मुख्य प्रतिस्पर्धी भनेको पाकिस्तान र थाइल्याण्ड हुन् । थाइल्याण्डलाई हामीले पराजित गरेका छौँ”, प्रशिक्षक भट्टले भन्नुभयो, “१९(उन्नाइस)औँ एसियाडमा त महिला ककड्डीले काष्य पदकसमेत जितेको इतिहास ताजा छ ।”प्रशिक्षकसहित १४/१४ जनाको कबड्डी पुरुष तथा महिला टिम भारतमा डेढ महिना तयारी गर्नेछ । “पुरुष टिममा नयाँ र पुराना खेलाडीको समीक्षण छ”, भट्टले भन्नुभयो, “विगतका अन्तरराष्ट्रियस्तरमा खेलेका अनभुवी खेलाडीलाई यस पटकको एसियाडमा उपयोग गरेर पदक दिलाउने गरी तयारी भइरहेको छ ।”त्यसैगरी बक्सिङ टोली अन्तिम तयारीका लागि आइतबार भारतको आसाम प्रस्थान गरेको छ ।पुरुष र महिला गरी सात खेलाडी र प्रशिक्षकसहितको टिमलाई आइतबार झापाबाट बिदाइ गरिएको थियो ।
टोलीमा प्रशिक्षकका रूपमा खटिनुभएका दीपक मर्हजनले एसियाड खेलकुदमा बक्सिङ खेलबाट पदकको आशा गर्न सकिने बताउनुभयो ।काठमाडौँमा आन्तरिक प्रशिक्षणपछि अन्तिम तयारीका लागि आसाम पुगेको नेपाली बक्सिङ टिममा अनुभवी र मेहनती खेलाडी छन् ।नेपाल बक्सिङ सङ्घका केन्द्रीय अध्यक्ष राम अवालेले एसियाडमा नेपाली बक्सिङ खेलाडीबाट पदकको आशा गरिएको बताउनुभयो । “सन् २०१० यता हामीले एसियाडमा बक्सिङमा पदक पाएका छैनौँ”, उहाँले भन्नुभयो, “विश्वमै बक्सिङमा अग्रस्थानमा रहेको भारतमा हाम्रा खेलाडीले डेढ महिना अन्तिम तयारी गरेर प्रतिस्पर्धा गर्नेछन् ।” उहाँले तयारी प्रशिक्षणका लागि सहयोग गरेकामा भारतप्रति धन्यवाद व्यक्त गर्नुभयो ।सन् २०१० मा चीनको ग्वाङ्झाउमा भएको एसियन खेलकुद प्रतियोगितामा नेपालका लागि काष्य पदक दिलाएका दीपक महर्जन अहिले बक्सिङ टिमको प्रशिक्षकको भूमिकामा छन् । त्यस यताका तीन वटा एसियाड संस्करणमा नेपाली बक्सिङले पदक जित्न सकेको छैन् ।
