घोडाघोडी (कैलाली): गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि विनोदले भने गाउँ छोडेका छैनन् ।
उहाँले नौ बिघा जमिनमा माछापालन गरेर वार्षिक रु २५ लाख बचत गर्नुभएको छ । कैलालीको घोडाघोडी नगरपालिक–५ का उदाहरणीय कृषक हुन्, विनोद चौधरी । पाँच वर्षअघि बैङ्कबाट कुल रु ५० लाख कर्जा सापट लिएर व्यवसाय गरेका चौधरीले माछापालनबाट मात्र वार्षिक रु २५ लाख कमाउन थाल्नुभएको हो । माछा उद्यमीका रुपमा परिचित विनोदको उमेर २७ वर्षको छ । पाँच वर्षअघि सीमित लगानीबाट उहाँले माछापालन सुरु गर्नुभएको हो । सुरुमा लगानी भए पनि अहिल भने विनोद माछापालन व्यवसायबाट खुसी हुनुभएको छ । उहाँको अधिकांश समय पोखरीमा बित्ने गर्छ । पढाइसँगै आम्दानी गर्नुपर्छ भन्ने मान्यताले माछापालनतर्फ आकर्षित हुनुभएका चौधरीले गाउँका अन्य युवालाई पनि स्वरोजगर बन्न प्रेरणा दिन थाल्नुभएको छ ।“विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले अघि बढेमा असफल भइँदैन,” विनोदले भन्नुभयो । माछापालन व्यवसाय सुरु गर्नु उहाँका लागि सहज थिएन । पोखरी, बाँध, पानी आपूर्तिको व्यवस्था, अन्य भौतिक संरचना निर्माणमै लाखौँ खर्च गर्नु परेको थियो । चौधरीले सुरुमा रु २५ लाख लगानी गर्नुभएको थियो । पछि क्रमशः लगानी बढ्दै गयो । लगानी उठ्दैन भन्ने डर नभएको होइन, विनोदलाई अन्ततः धैर्यताको फल मीठो हुन्छ भने जस्तै पाँच वर्षमा उनको लगानी उठिसकेको छ । विनोद अहिले नाफामा हुनुहुन्छ । उहाँका अनुसार व्यवसायको सुरुआती चरणमा आम्दानीभन्दा खर्च धेरै हुने भएकाले परिवार सञ्चालन गर्न कठिनाइ भएको थियो । उत्पादन कम हुनु, बजार व्यवस्थापनमा अनुभवको कमी तथा निरन्तर लगानी आवश्यक पर्नुले आर्थिक दबाब बढाएको उहाँ सम्झनुहुन्छ ।“सुरुमा कमाईभन्दा लगानी धेरै थियो । परिवार चलाउन पनि गाह्रो भयो । व्यवसाय टिकाउन धैर्य चाहिने रहेछ । दुई–तीन वर्षसम्म त नाफा भन्ने कुरा नै भएन,” उहाँले भन्नुभयो ।सुरुका वर्ष उत्पादन कम भएकाले वार्षिक रु पाँच लाखको माछा बिक्री हुने गरेको थियो । पछिल्ला वर्षमा उत्पादन बढ्दै गएपछि वर्षमा दुई पटकसम्म माछा बिक्री गर्न सकिने अवस्था बनेको छ । यससँगै वार्षिक आम्दानी पनि करिब रु २५ लाखसम्म पुगेको उहाँले जानकारी दिनुभयो ।बजारमा ताजा माछाको माग निरन्तर बढिरहेकाले गुणस्तरीय उत्पादन गर्न सके अझ राम्रो आम्दानी लिन सकिने सम्भावना रहेको उहाँको विश्वास छ ।
बर्खायाममा बाँध भत्किने, पानीको सतह नियन्त्रण, पोखरी सफा, पानीको गुणस्तर कायम राख्नुपर्ने काममा हरेक वर्ष थप खर्च हुने गरेको उहाँले बताउनुभयो । उहाँले पाँच वटा ठूला पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहनुभएको छ । चौधरीका अनुसार व्यवसाय सुरु गर्दा आवश्यक प्राविधिक ज्ञानको अभाव थियो । त्यसपछि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त तालिम, प्राविधिक परामर्श र अनुभवी किसानसँगको सिकाइले व्यवसायलाई व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो ।माछापालन व्यवसायमा धैर्य, लगनशीलता र सही व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने उहाँको अनुभव छ । धेरैले व्यवसाय सुरु गरेको छोटो समयमै राम्रो आम्दानीको अपेक्षा गर्ने गरे पनि यो क्षेत्रमा सुरुका केही वर्ष लगानी बढी हुने र त्यसपछि मात्रै प्रतिफल आउन सुरु हुने उहाँको भनाइ छ ।उहाँको व्यवसायमा अहिले परिवारका सदस्यहरूको पनि सक्रिय साथ रहेको छ । दाना व्यवस्थापन, पोखरीको हेरचाह, माछा बिक्री तथा अन्य दैनिक काममा परिवारका सदस्यले सहयोग गर्ने गरेका छन् । परिवारको साथ र निरन्तर मेहनतले व्यवसायलाई थप विस्तार गर्न सहज भएको उहाँ बताउनुहुन्छ ।आगामी दिनमा उत्पादन क्षमता अझै बढाउने, आधुनिक प्रविधिको प्रयोग गर्ने तथा थप पोखरी विस्तार गरी व्यावसायिक माछापालनलाई अझ सुदृढ बनाउने योजना रहेको उहाँले बताउनुभयो ।जोखिम मोलेर सुरु गरिएको माछापालन व्यवसायले आज चौधरीलाई आत्मनिर्भर बनाएको मात्र छैन, गाउँमै बसेर आधुनिक कृषि उद्यममार्फत सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसमेत दिएको छ । वैदेशिक रोजगारीलाई मात्रै सफलताको माध्यम ठान्ने युवाका लागि उहाँको यात्रा प्रेरणादायी उदाहरण बनेको छ ।
