पाँचथर: पाँचथरका विभिन्न स्थानीय तहमा रेबिज रोगको महामारी फैलिएको छ ।
सामुदायिक कुकुरको टोकाइबाट फाल्गुनन्द गाउँपालिका, हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकामा पशु चौपाया धमाधम मर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।फाल्गुनन्द गाउँपालिकामा मात्रै पछिल्लो तीन दिनमा १५ वटा पशु चौपायाको मृत्यु भइसकेको छ । फाल्गुनन्द–६ मा लोकबहादुर आङदेम्बे, महेन्द्रकुमार नेम्वाङ, डिकिन नेम्वाङ, जयवीर राई, अभिन्द्र नेम्वाङ लगायतका किसानका गाई, गोरु, राँगा, भैँसी र बाख्रा मरेका छन् । यस्तै, वडा नम्बर २ इम्बुङमा पनि ५ वटा पशुको मृत्यु भएको छ ।पशु सेवा शाखाका अनुसार एउटा भैँसीको मूल्य करिब १ लाख ५० हजार र गाईको १ लाख रुपैयाँसम्म पर्ने भएकाले किसानहरूले ठुलो आर्थिक क्षति बेहोर्नु परेको छ ।फाल्गुनन्द गाउँपालिकाका १, २, ५, ६ र ७ नम्बर वडालाई उच्च जोखिम क्षेत्र घोषणा गरिएको छ । पशु सेवा शाखाका प्राविधिक गोपाल घिमिरेका अनुसार हालसम्म ५६ वटा पशु चौपायामा रेबिजको लक्षण देखिएको छ । वडा नम्बर ६ को मेहेलबोटे क्षेत्रमा मात्रै ३ वटा गाई भैँसी र ७ जना मानिसलाई कुकुरले टोकेको छ । त्यस्तै, वडा नम्बर ७ को आङसराङमा ३ राँगा र ७ बाख्रालाई सङ्क्रमित कुकुरले टोकेको पुष्टि भएको छ ।वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद आङदेम्बेले भने, ‘बस्तीभित्र पुगेका सामुदायिक कुकुरले पशु र मानिसलाई टोकेका छन्, यो संख्या अझै बढ्न सक्छ । हामीले निगरानी बढाइरहेका छौँ ।’यसैबीच, फिदिम बजारमा शनिबार साँझ आतंक मच्चाउने एउटा सामुदायिक कुकुरमा पनि रेबिज पुष्टि भएको छ ।
उक्त कुकुरले एक घण्टाको अवधिमा ४० वटा अन्य कुकुर, एक बालिका र एउटा भैँसीलाई टोकेको थियो । नगरपालिकाले नियन्त्रणमा लिएपछि सो कुकुरको मृत्यु भएको र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र फिदिमले गरेको परीक्षणमा रेबिज सङ्क्रमण पुष्टि भएको निमित्त प्रमुख निरजकुमार भट्टराईले जानकारी दिए ।हिलिहाङ गाउँपालिकामा पनि निगरानीमा राखिएको खसी–बोकाको मृत्यु भएपछि गरिएको परीक्षणमा रेबिज भेटिएको छ ।सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि स्थानीय तह र पशु सेवा विज्ञ केन्द्रले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । मरेका अधिकांश पशुहरूमा रेबिजको जीवाणु भेटिएको छ भने केहीको पिसिआर रिपोर्ट आउन बाँकी छ । फाल्गुनन्दको नवमी डाँडा, इम्बुङ, फाक्तेप, पिपलबोटे र मेहेलबोटे क्षेत्रलाई उच्च जोखिम क्षेत्र तोकिएको छ ।पशुमा र्याल काढ्ने, झोक्राउने वा असामान्य व्यवहार (रेबिजको लक्षण) देखिएमा तुरुन्त पशु सेवा शाखा वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पालिकाले आग्रह गरेको छ भने घरपालुवा कुकुर र पशु चौपायालाई जथाभाबी नछाड्न र अनिवार्य रूपमा रेबिजविरुद्धको खोप लगाउन पशु धनीहरूलाई सचेत गराइएको छ ।
