दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा समुद्री चराको मृत्यु एच५ एन१ बर्डफ्लुका कारण भएको पुष्टि भएको अधिकारीले सोमबार बताएका छन् ।
कृषि, मत्स्य तथा वनमन्त्री जुली कोलिन्स र वातावरण तथा जलमन्त्री मरे वाटले पत्रकार सम्मेलनमा ‘ग्रेटर क्रेस्टेड टर्न’ प्रजातिका चरामा अत्यधिक सङ्क्रामक एच५ एन१ एभियन इन्फ्लुएन्जा सङ्क्रमण देखिएको जानकारी दिनुभएको हो । दक्षिण अष्ट्रेलियामा एच५ एन१ सङ्क्रमण फैलिरहेका बेला शुक्रबार राज्यको दक्षिण–पूर्वी तटबाट करिब पाँच किलोमिटर टाढा रहेको एक सानो टापुमा हवाई निगरानीका क्रममा ४९ वटा मृत र ३५ वटा बिरामी चरा फेला परेका थिए ।मन्त्री कोलिन्सले जुनको मध्यतिर अष्ट्रेलियाको मुख्य भूमिमा पहिलो पटक एच५ एन१ भाइरस देखिएपछि वन्यजन्तुमा यस्तो सामूहिक मृत्युको घटना हुनसक्ने अनुमान गरिएको बताउनुभयो । “जब एच ५ बर्डफ्लु वन्यजन्तु र प्राकृतिक वातावरणमा फैलिन्छ, त्यसबाट हुने ठूलो क्षति रोक्न कठिन हुन्छ । अहिले हामी त्यही अवस्था देखिरहेका छौँ”, उहाँले भन्नुभयो ।
उहाँले अष्ट्रेलियालीहरूले आगामी दिनमा भाइरस थप फैलिन सक्ने र प्रभावित वन्यजन्तुको सङ्ख्या बढ्न सक्ने अवस्थाका लागि तयार रहनुपर्ने बताउनुभयो ।अष्ट्रेलिया सरकारले मुख्य भूमिमा भाइरस देखिनुअघि नै एच५ एन१ प्रकोपको निगरानी, प्रतिकार्य र पूर्वतयारीका लागि ११ करोड ३० लाख अष्ट्रेलियाली डलर (करिब ७ करोड ९५(पन्चान्नब्बे) लाख अमेरिकी डलर) विनियोजन गरेको थियो ।मन्त्री वाटका अनुसार भाइरस नियन्त्रणका लागि राष्ट्रिय योजना कार्यान्वयनमा ल्याइएको छ भने थप २ करोड ४० लाख अष्ट्रेलियाली डलर (करिब १ करोड ६९(उनन्सत्तरी) लाख अमेरिकी डलर) बजेट छुट्याइएको छ ।
