इटहरी: सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई पक्षीय युवा समूहबिच भएको विवादले उग्र रूप लिएपछि उत्पन्न तनावलाई साम्य पार्न र सामाजिक एकता कायम राख्न इटहरीमा ‘सामाजिक सद्भाव र्याली’ निकालिएको छ ।
नागरिक समाज इटहरीको अगुवाइमा बुधबार बिहान निकालिएको उक्त र्यालीले इटहरी बजारको परिक्रमा गरेको थियो । र्यालीमा सहभागीहरूले हिन्दु र मुस्लिम दुवै समुदायलाई संयम अपनाउन, अफवाहको पछि नलाग्न र वर्षाैंदेखिको आपसी भाइचारा कायम राख्न अपिल गरेका छन् ।नागरिक समाज इटहरीका अध्यक्ष आर.के. राईले समाजमा बढ्दै गएको विद्वेषलाई रोकी सामाजिक एकता, सहिष्णुता र आपसी सम्मानको वातावरण बनाउन र्याली आयोजना गरिएको बताए । यस्तै प्रकारको सद्भाव र्याली मंगलबार दुहबीमा पनि हिन्दु र मुस्लिम दुवै पक्षले संयुक्त रूपमा निकालेका थिए ।
गत आइतबार राति दुई पक्षबीच भएको झडपले हिंसात्मक मोड लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । सो क्रममा देवानगञ्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सुनसरीको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ ।स्थितिलाई थप भयावह हुन नदिन प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्लाका १० वटा स्थानीय तहमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेका छन् ।
