विराटनगर: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम भई जनजीवन सामान्य भएपछि कफ्र्यु हटाइने छ ।यसैबीच, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहितको टोलीले घटनास्थलको निरीक्षण एवं अवलोकन गरेको छ । त्यस क्रममा उहाँहरूले मृतक र घाइतेका परिवारजनसँग पनि कुराकानी गर्नुभएको थियो ।पीडित पक्षले दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतिपूर्र्ति, घाइतेको निःशुल्क उपचार तथा घटनाको सत्यतथ्य छानबिनको माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले कप्तानगन्ज क्षेत्रमा शान्ति सुरक्षा स्थिति नियन्त्रणमै रहेको बताउनुभयो ।
यसैबीच, देवानगन्ज गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताले स्थानीयमा देखिएको असझदारीले भएको देवानगन्ज घटनाबाट समाजमा क्षति पुगेकाले सबै नागरिकलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ ।हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले पनि अचानक भएको त्यस घटनालाई साम्य तुल्याउन पूर्वाग्रही नभई संयमता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले द्वन्द्व, झगडा, तोडफोड, आगजनीजस्ता क्रियाकलापले कसैको हित नगर्ने भएकाले समाजमा सबैले सद्भाव कायम गर्नेतर्फ पहल गर्न आह्वान गर्नुभयो ।
